मदनकृष्ण श्रेष्ठको बायोपिक ‘मदनकृष्ण’ निर्माण घोषणा, महेश त्रिपाठी शीर्ष भूमिकामा

...

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्रको औपचारिक घोषणा सोमबार (असार ८, २०८३) काठमाडौंमा गरिएको हो।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन्। यस्तै, प्रमुख भूमिकामा अभिनेत्री केकी अधिकारी पनि रहनेछिन्। मदनकृष्ण श्रेष्ठको श्रीमती यसोधाको भूमिकामा नायिका केकी अधिकारी रहनेछिन् ।

साथै हरिवंश आचार्य, देशभक्त खनाल, किरण केसी, राजाराम पौडेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ।

निर्माता राजकुमार श्रेष्ठ रहेको चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन्। चलचित्रको छायांकन भदौ महिनादेखि सुरु गरिनेछ।



प्राविधिक टिममा बाबु श्रेष्ठ (डीओपी), मिलन श्रेष्ठ (सम्पादन), अलिश कार्की (ब्याकग्राउन्ड म्युजिक), भरत कँडेल (साउन्ड डिजाइन) रहेका छन् भने OSR Digital डिजिटल पार्टनरको रूपमा आबद्ध छ।

नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा दशकौँदेखि अतुलनीय योगदान पुर्‍याउँदै आएका मदनकृष्ण श्रेष्ठको जीवनयात्रामा आधारित चलचित्र भएकाले यसप्रति दर्शकमाझ सुरुदेखि नै विशेष उत्सुकता देखिएको छ। यसअघि पनि बायोपिक विधाका चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्सका कारण ‘मदनकृष्ण’ प्रति चलचित्र वृत्तमा उच्च अपेक्षा गरिएको छ।