रिलिजअघि ‘गौँथली’प्रति दर्शकको जिज्ञासा

...

काठमाडौं । साउन १ गते प्रदर्शनमा आउन लागेको चलचित्रगौँथलीले रिलिजअघि नै दर्शकमाझ राम्रो चर्चा बटुल्न थालेको छ। चलचित्रको टिजर र हालै सार्वजनिक गरिएको गीतआँखा भरी आँसुले सकारात्मक प्रतिक्रिया पाएसँगै यसको हाइप दिनप्रतिदिन बढिरहेको छ।

यसअघि सार्वजनिक टिजरमा देखिएको कथावस्तु, अभिनय र प्रस्तुतिलाई दर्शकले रुचाएका छन्। त्यसपछि सार्वजनिक गरिएको थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतआँखा भरी आँसुले पनि दर्शकको मन जितिरहेको छ। निर्माण पक्षका अनुसार गीत र टिजर दुवैले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया प्राप्त गरेका छन्।

निर्देशक डा. कपिल रिजालले चलचित्रको विषयवस्तु र कलाकारहरूको अभिनयको विशेष प्रशंसा भइरहेको बताए। शारीरिक समस्याले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रप्रति दर्शकको चासो बढ्दै गएको उनको भनाइ छ।

चलचित्रमा पहिलोपटक अरुण क्षेत्री र सिम्रन खड्का अनस्क्रिन जोडीका रूपमा देखिँदैछन्। उनीहरूको जोडी पनि दर्शकमाझ कौतुहलताको विषय बनेको छ।

डा. भोला रिजालको कथामा आधारितगौँथलीमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ।