काठमाडौँ । क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको यो फिल्मलाई दक्षिण कोरियाका फिल्म वितरकले खरिद गरेका हुन्।
कोरियाका लागि यस फिल्मको प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ नामक कम्पनीले खरिद गरेको हो। यो सम्झौतासँगै अब कोरियामा रहेका नेपाली दर्शकले पनि यो फिल्म हेर्न पाउने भएका छन्। यद्यपि, फिल्म कति रकममा बिक्री भयो भन्ने बारेमा निर्माण पक्षले केही खुलाएको छैन। प्रदर्शन मिति सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अधिकार बिक्री हुनुलाई फिल्म क्षेत्रमा सकारात्मक रूपमा हेरिएको छ।
सोनी थापा ९ढुङ्गाना०को प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई विनय राज पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्। अभिनेत्री न्यान्सीले यसअघि ब्लकबस्टर फिल्म ‘१२ गाउँ’मा काम गरिसकेकी छन्।
यस फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखनमा तयार भएको हो।





२० असार २०८३, शनिबार १३:०९ 








