ट्रेलरपछि ‘गौँथली’को चर्चा चुलियो, दर्शकबाट प्रशंसा

...

काठमाडौं । साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र गौँथली को ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ यसको चर्चा चुलिएको छ। ट्रेलर युट्युबको चलचित्रतर्फ ट्रेन्डिङको दोस्रो स्थानमा रहँदा दर्शकले फिल्मलाई भावनात्मक र मन छुने नेपाली चलचित्रको रूपमा प्रशंसा गरिरहेका छन्।

अटिजम भएका युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनकी सहकलाकार सिम्रन खड्काको अभिनयले दर्शकको मन जितेको छ। ट्रेलर हेरेपछि धेरैले चलचित्रले हलमा आँसु बगाउने र नेपाली सिनेमामा नयाँ छाप छोड्ने प्रतिक्रिया दिएका छन्।

डा. कपिल रिजाल निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ। सामाजिक तथा भावनात्मक कथावस्तुमा आधारित गौँथली लाई दर्शकले प्रतीक्षित चलचित्रका रूपमा लिन थालेका छन्।