काठमाडौँ । नेपाली विवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता मिसेस नेपाल वल्र्डको २०२५ बिजेता रक्षा पन्तले नेपाली कला क्षेत्रमा विवाहित महिलाहरुलाई हेर्ने नजर फरक भएको बताइन् । अविवाहित महिला र विवाहित महिलालाई कुनैपनि कामको प्रस्ताव गर्दा सोचाई नै फरक बनाउने गरेको धारण उनले राखेकी हुन् ।
बुधबार मिसेस नेपाल वल्र्डको २०२६को पत्रकार सम्मेलनमा बोल्दै रक्षालाई मिडियाकर्मीले बिजेता भइसकेपछि कला क्षेत्रका कामहरुमा कत्तिको अफर आइरहेका छन् भन्ने प्रश्न गरेका थिए । उनले उक्त प्रश्नमा भनेकी छिन्ः ‘मैले झुट नबोली भन्नुपर्छ, त्यस्तो कुनैपनि कामका लागी अफर अहिलेसम्म आएको छैन । मेरो बिचारमा यहाँ अझैपनि विवाहित महिला भनेपछि सोच्नेकुराहरु फरक छन्, हेर्ने नजर फरक छन् ।’
सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरस्थित होटल द स्क्वायरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो। आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौंमा हुनेछ भने ग्रान्ड फिनाले कात्तिक १४ गते आयोजना गरिनेछ। प्रतियोगितामार्फत नेपाली विवाहित महिलालाई आफ्नो प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता तथा सामाजिक योगदान राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने जनाइएको छ।
यस वर्षको प्रतियोगिताबाट मिसेस नेपाल वर्ल्ड २०२६, मिसेस नेपाल इन्टरनेसनल २०२६, एमएस इन्टरनेसनल २०२६ तथा पहिलो पटक मिसेस नेपाल कोसमो २०२६ समेत चयन गरिनेछ। मिसेस नेपाल वर्ल्ड २०२६ की विजेताले आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने मिसेस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् भने मिसेस नेपाल कोसमो २०२६ की विजेताले म्यानमारमा आयोजना हुने मिसेस कोस्मोमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।





७ श्रावण २०८३, बिहीबार १४:१६ 








