छाउपडी प्रथामाथि बनेको चलचित्र ‘हली’को काठमाडौँमा विशेष शो

...

काठमाडौँ । आगामी साउन २२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘हली’ को काठमाडौँस्थित सिटी सेन्टरमा रहेको बिग भुमिज्मा विशेष शो सम्पन्न भएको छ। हल भरिभराउ उपस्थितिसहित आयोजना गरिएको उक्त विशेष शोमा चलचित्रले दर्शक तथा चलचित्रकर्मीहरूबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ।

विशेष शो हेरिसकेपछि अधिकांश फिल्मकर्मी र दर्शकहरूले छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई मजबुत कथावस्तुमार्फत पर्दामा उतारिएको भन्दै निर्माण पक्षलाई बधाई तथा शुभकामना व्यक्त गरे। दर्शकको अनपेक्षित माया र सकारात्मक प्रतिक्रियाबाट निर्देशक ओम प्रतीकका साथै निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठ निकै उत्साहित देखिएका छन्।

छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्रको ट्रेलर, प्रमोशनल गीत र पोस्टरले यसअघि नै दर्शकमाझ राम्रो चर्चा कमाइसकेको छ। सामाजिक एवं देशगत परिवर्तनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्ने यस चलचित्रको लेखन स्वयं निर्देशक ओम प्रतीकले गरेका हुन्। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठद्वारा निर्मित यस चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ। चलचित्रको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित शीर्ष कलाकारहरूको विशेष नृत्य देख्न सकिन्छ।

राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न सकिन्छ। निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा गायक बाबुल गिरी र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत चलचित्रमा समावेश छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्। चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।