काठमाडौं । अभिनेता तथा चलचित्र पत्रकार साइग्रेस पोखरेल अब मुख्य भूमिकामा देखिने भएका छन्। निर्देशक राजकुमारको निर्देशनमा बन्न लागेको फिल्म ‘फलानो ढिस्कानो’ मा उनी नायकका रूपमा अनुबन्धित भएका हुन्। बुधबार आयोजित एक कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले पोस्टर पनि सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा साइग्रेस स्कुटरको पछाडिको सिटमा उल्टो आसनमा बसेको देखिन्छ। उनको घाँटीमा चलचित्र पत्रकार संघ नेपालको परिचयपत्र झुन्ड्याउने फित्ता समेत देखिएकाले उनी फिल्ममा चलचित्र पत्रकारकै भूमिकामा हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, निर्माण टिमले उनको चरित्रबारे आधिकारिक रूपमा केही खुलाएको छैन।
निर्देशक राजकुमारले फिल्मको शीर्षकबारे जिज्ञासा राख्दा कथाले नै शीर्षकलाई जन्म दिएको बताए। उनले स्क्रिप्ट लेख्ने क्रममा विभिन्न कलाकारबारे सोच्दा उक्त भूमिकाका लागि साइग्रेस नै सबैभन्दा उपयुक्त लागेकोले उनलाई मुख्य भूमिकामा चयन गरिएको स्पष्ट पारे।
यता साइग्रेस पोखरेलले भने आफूले निर्वाह गर्ने पात्रबारे अहिले नै खुलाउन चाहेनन्। उनले समय आएपछि दर्शकले आफ्नो भूमिका आफैं देख्ने भन्दै उत्साह व्यक्त गरे।
निर्माण टिमका अनुसार फिल्मका अन्य कलाकारहरूको नाम केही समयपछि सार्वजनिक गरिनेछ। फिल्मको सार्वजनिक पोस्टरले नै दर्शकमाझ उत्सुकता बढाएको छ।





१२ श्रावण २०८३, मंगलवार १२:३० 








