द भ्वाइस किड्सका उत्कृष्ट ६ प्रतिस्पर्धीसँग मिलन नेवारको ‘घिन्ताङ्ग घिन्ताङ्ग मादलु’ गीत सार्वजनिक

...

काठमाडौँ । गायिका मिलन नेवार र द भ्वाइस अफ किड्स सिजन ५ का उनका टप–६ प्रतिस्पर्धीहरूको स्वरमा रहेको सन्देशमूलक गीत ‘घिन्ताङ्ग घिन्ताङ्ग मादलु’ केही दिनअघि सार्वजनिक भएको छ। दिनेशराज शिवाकोटी र राजनराज शिवाकोटीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको नै संगीत रहेको छ।

देशप्रेम, आफ्नो पहिचान र मातृभूमिप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर तयार गरिएको गीतका केही हरफले यतिबेला सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ। विशेषगरी ‘तिमीले माटोलाई चिनेमा’ भन्ने हरफलाई लिएर गायिका मिलन नेवारले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई समर्थन गर्दै गीत गाएको दाबी सामाजिक सञ्जाल, रील्स तथा टिकटक भिडियोमार्फत फैलिएको छ।

यहि बिषयमा बोल्दै गायिका नेवारले गीत कुनै राजनीतिक उद्देश्यका लागि नभई आफ्ना प्रतिभाशाली प्रतिस्पर्धीहरूलाई अझ निखार्ने र सकारात्मक सन्देश दिने उद्देश्यले तयार गरिएको हो।

उनले भनिन्, “आमा चिन्नु, माटो चिन्नु र देश चिन्नु भनेको नै आफ्नो पहिचान कायम राख्नु हो। त्यसैले माटोको सुगन्ध मिसिएका सन्देशमूलक शब्दहरूसँगै मेरा प्रतिस्पर्धी भाइबहिनीहरूलाई ग्रुमिङ गर्दै लैजाने हेतुले यो गीत तयार गरिएको हो। हरेकले आफूलाई असल मानिस बनाउन सकेको खण्डमा यो देश आफैं राम्रो बन्छ। यही नै गीतको मुख्य सन्देश हो।”