पाँचौं ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’का लागि आवेदन खुला, भदौ १३ सम्म गीत दर्ता गर्न सकिने

...

काठमाडौं । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमातीज फेस्टिबल एवं पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड२०८३आयोजना हुने भएको छ। आयोजकले अवार्डका लागि आवेदन खुला गर्दै भदौ १३ गतेभित्र तीज गीत दर्ता गर्न आह्वान गरेको छ।

शुभकामना मिडिया सोलुसनको आयोजनामा तथा आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा हुने कार्यक्रमअन्तर्गत भदौ २० गते तीज फेस्टिबल आयोजना गरिनेछ भने भदौ २१ गते गोंगबुस्थित बीजी बैंक्वेटमा पाँचौं संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्ड सम्पन्न हुनेछ।

आयोजक संस्थाकी अध्यक्ष सबिता पाखरेलका अनुसार तीज फेस्टिबलमा तीजलाई लक्षित व्यवसायिक स्टल, सांस्कृतिक कार्यक्रम तथा चर्चित गायकगायिकाको सांगीतिक प्रस्तुति रहनेछ। साथै सहभागी चेलीबेटीका लागि दर खाने विशेष कार्यक्रम पनि राखिएको छ।

उनका अनुसार अवार्डमा तीज गीतसंगीतका २२ विधामा उत्कृष्ट स्रष्टा र सिर्जनालाई सम्मान गरिनेछ। यसका अतिरिक्त गीतसंगीत तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलालाईनारीरत्न सम्मानबाट पनि सम्मानित गरिनेछ। अवार्डमा सर्वोत्कृष्ट तीज दोहोरी गीत, गायक, गायिका, संगीतकार, रचनाकार, मोडल, निर्देशक, मेकअप आर्टिस्ट, छायाङ्कन, सम्पादन, कोरियोग्राफी, एरेन्जर, मिक्सिङ लगायत २२ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

अध्यक्ष पाखरेलले तीजको मौलिकता जोगाउँदै उत्कृष्ट सिर्जनालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको बताइन्।

तीज अवार्डमा सहभागी हुन इच्छुक स्रष्टाले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन फाराम म्युजिक खबरको सामाखुसीस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ भने इभेन्टोज डटकममार्फत अनलाइनबाट पनि गीत दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।