काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रकै ऐतिहासिक सफलता हासिल गरेको ‘तिनीहरू: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक गरिएको छ। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।
सार्वजनिक म्युजिकल ट्रेलरले हराएकी छोरीको खोजीमा संघर्षरत एक आमाको पीडा, गाउँमा फैलिएको जंगली हात्तीको त्रास र त्यसबीच बाँच्न बाध्य अल्पसंख्यक समुदायको जीवनलाई भावनात्मक र रहस्यमय ढंगले प्रस्तुत गरेको छ।
ट्रेलरमा मुख्य पात्रको छटपटी, निराशा र आक्रोश देख्न सकिन्छ। प्रहरीसँग छोरी अप्सरालाई खोजिदिन गरिएको आग्रह, आफन्तबाटै उठेका शंका र आमाले गरेको अथक संघर्षलाई ट्रेलरले केन्द्रमा राखेको छ। जंगली हात्तीको आतंक कथाको मुख्य आधार भए पनि ट्रेलरमा हात्तीलाई प्रत्यक्ष देखाइएको छैन, जसले कथाप्रति थप उत्सुकता जगाउँछ।
भोजपुरी शैलीको लयमा तयार गरिएको गीतले म्युजिकल ट्रेलरलाई थप आकर्षक बनाएको छ। लव कर्णको शब्द रहेको गीतमा शिवानी भगत र देव अहिररावको स्वर सुन्न सकिन्छ। ट्रेलरमा तेस्रोलिंगी समुदायको सांगीतिक प्रस्तुति र केही रहस्यमय दृश्यले चलचित्रको सस्पेन्सलाई अझ बलियो बनाएका छन्।
अविनाश विक्रम शाहको निर्देशनमा बनेको चलचित्रले हालै कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड जित्दै नेपाली चलचित्र इतिहासमा नयाँ अध्याय थपेको थियो। यस उपलब्धिपछि चलचित्रप्रति नेपाली दर्शकमाझ पनि उत्सुकता बढेको छ।
चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीको अभिनय रहेको छ। नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको चलचित्रका नेपाली निर्माता अनुप पौडेल हुन्। फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन्।
सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।
चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रका एसोसिएट निर्मातामा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन्। अन्डरग्राउन्ड टकिज नेपालका तर्फबाट प्रवेश गुरुङ सह–निर्माता रहेका छन् भने आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एसोसिएट निर्मातामा छन्।
निर्देशक अविनाश विक्रम शाहकै पटकथा रहेको चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले तयार पारेका हुन्।
निर्देशक शाह यसअघि आफ्नो लघु चलचित्र ‘लोरी’बाट पनि कान्समा पुरस्कृत भइसकेका छन्। उनी चर्चित चलचित्र ‘कालो पोथी’, ‘शाम्बाला’ तथा लिमिटेड सिरिज ‘सिंहदरबार’का पटकथाकारसमेत हुन्।






२१ श्रावण २०८३, बिहीबार ११:५५ 









