प्रदर्शनअघि नै युकेमा ‘हली’ सोल्ड आउट, विशेष शोका सबै टिकट बिक्री

...

काठमाडौं । यही साउन २२ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्रहलीप्रदर्शनअघि नै बेलायतमा सोल्ड आउट भएको छ। निर्माण टिम र बेलायतस्थित सपन इन्टरटेनमेन्ट लिमिटेडबीच प्रदर्शन अधिकारको सम्झौता भएसँगै विशेष शोका सबै टिकट बिक्री भएका हुन्।

निर्माण पक्षका अनुसार सेप्टेम्बर २० मा अल्डरशटस्थित प्रिन्सेस हलमा आयोजना हुने विशेष प्रदर्शनका सबै टिकट अग्रिम रूपमा बिक्री भइसकेका छन्। बेलायतमा चलचित्रको प्रदर्शन तथा व्यवस्थापनको जिम्मा सपन इन्टरटेनमेन्ट लिमिटेडले लिएको छ। शोअघि नै टिकट सोल्ड आउट हुनुले नेपाली चलचित्रप्रति बेलायतमा दर्शकको उत्साह कायमै रहेको निर्माण पक्षको विश्वास छ।

चलचित्रका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठलेहलीराम्रो रकममा युके प्रदर्शनका लागि बिक्री भएको जानकारी दिएका छन्।

नेपालमा प्रदर्शन हुन एक साताअघि निर्माण टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ। केही दिनअघि टोलीले झापा, मोरङ र सुनसरीमा प्रचार अभियान चलाएको थियो भने त्यसपछि दाङ, नेपालगञ्ज र धनगढीसम्म पुगेर चलचित्रको प्रचार गरेको थियो। पश्चिम नेपालका विभिन्न स्थानमा अटो र ईरिक्सामा चलचित्रका पोस्टरमार्फत प्रचार गरिएको थियो।

ओम प्रतीकको निर्देशन तथा लेखन रहेको चलचित्र छाउपडी प्रथाको विषयमा आधारित छ। पोस्टर, टिजर र गीत सार्वजनिक भएपछि चलचित्रप्रति दर्शकको चासो बढेको निर्माण पक्षको दाबी छ। चलचित्रले किसान वर्गका मुद्दालाई समेत समेटेको बताइएको छ।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।

चलचित्रको विशेष आकर्षणका रूपमा रहेको प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य समावेश गरिएको छ। जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा राहुल राईको छायाङ्कन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको गीत पनि चलचित्रमा समावेश छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले गरेका हुन्।

चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।