काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र **‘अक्षरा’**को मार्मिक टिजर सार्वजनिक गरिएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रको २ मिनेट २ सेकेन्ड लामो टिजर सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरले धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक हिंसा र मानसिक पीडालाई केन्द्रमा राखेको छ। छोरीको विवाहअघि परिवार र केटाको पृष्ठभूमि बुझ्नुभन्दा पनि अनुहार र धनसम्पत्तिलाई प्राथमिकता दिँदा निम्तिन सक्ने कारुणिक अवस्थालाई टिजरले देखाएको छ।
चलचित्रमा न्यान्सी खड्काले छोरीको भूमिका निर्वाह गरेकी छन् भने सुशील पोखरेल उनका बुबाको भूमिकामा छन्। सुशील सिटौला न्यान्सीका श्रीमानको भूमिकामा देखिएका छन्। मदिराको लतमा श्रीमतीमाथि हिंसा गर्ने र आफ्नो पारिवारिक हैसियतको धाक देखाउने पात्रका रूपमा सिटौलालाई प्रस्तुत गरिएको छ।
श्रीमानबाट हिंसा भोगेपछि माइती पुगेकी छोरीले बुबासँग गरेको भावुक संवाद टिजरको मुख्य आकर्षण बनेको छ। छोरीले आफ्नो अस्तित्व र माइतीप्रतिको जिम्मेवारीबारे बुबासँग गरेको प्रश्नले चलचित्रको कथाको गहिराइ संकेत गर्छ। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा ‘ढुङ्गाना’ हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन् भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।
चलचित्रको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार पारेका छन्।
चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
चलचित्रका गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ। गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिनेछ। गौतम खड्काले सम्पादन गरेको चलचित्रमा दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। टिजर तथा ट्रेलरको काम साहिल खानले गरेका हुन्।
चलचित्रलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्नेछन्। चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।






२५ श्रावण २०८३, सोमबार १२:५६ 









