काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। यो चलचित्र गुराँसको मुख्य भूमिकामा डेब्यु हुनेछ। यसअघि उनले केही चलचित्रमा सहायक भूमिकासँगै विज्ञापन र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।
निर्देशक चौहानका अनुसार गुराँस चलचित्रकी एक्ली अभिनेत्री हुन्। कथाको पात्रका लागि उपयुक्त देखिएपछि उनलाई बुधबार निर्माण टिमले अनुबन्ध गरेको हो।
गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय प्रशिक्षण लिएकी हुन्। प्रशिक्षणका क्रममा उनले अभिनय, अभिव्यक्ति, प्रस्तुति तथा चरित्र निर्माणका विभिन्न पक्षमा काम गरेकी छन्। उनले यसअघि हरर चलचित्र ‘मम्मी’सहित केही म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरेकी छन्।
‘ल्याङ्ग ल्याङ्ग’मा यसअघि नै रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। निर्माण टिमले थप एक अभिनेता खोजिरहेको छ। एक जना अभिनेता अनुबन्ध भएसँगै चलचित्रको मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले बताएका छन्।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ। युवापुस्ताको मनोविज्ञान तथा उनीहरूको दैनिक जीवनमा आउने उतारचढावलाई समेटिने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ।
युवा पुस्ताले साथीभाइबीच हुने दबाब, तनाव वा झन्झटलाई बुझाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै चलचित्रको शीर्षक बनाइएको निर्माण टिमले जनाएको छ।
गुराँस मुख्य भूमिकामा अनुबन्धित भएपछि उनकी आमा रिना ढकालले सामाजिक सञ्जालमार्फत भावुक हुँदै छोरीको कलाकारिताको यात्राबारे लेखेकी छन्। उनका अनुसार गुराँस सात महिनाकी हुँदा नै उनलाई नाटकमा अभिनय गराइएको थियो। बाल्यकालदेखि नै छोरीलाई कलाकार बनाउने सपना बोकेको र अहिले त्यो यात्राको सुरुवात भएको उनले उल्लेख गरेकी छन्।
चलचित्र असोजको पहिलो साताबाट छायाङ्कनमा जाने तयारीमा छ। हाल प्रि–प्रोडक्सनको काम भइरहेको चलचित्रमा भोलानाथ कटवालको लगानी रहनेछ। चलचित्रको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।






२९ श्रावण २०८३, शुक्रबार १६:१४ 









