काठमाडौं । अभिनेता पल शाहको निर्माणमा बन्न लागेको चलचित्र ‘यानीमाया’को छायांकन सुरु भएको छ। निर्माण टिमले गागलफेदीस्थित फिल्म स्टुडियोमा शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरेको हो।
चलचित्रको छायांकन ३५ दिनमा पूरा गर्ने लक्ष्य राखिएको छ। सुरुको १० दिन काठमाडौंमा छायांकन गरिनेछ भने त्यसपछि निर्माण टिम पर्वततर्फ जानेछ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा पल शाह र अञ्जना मगर मुख्य भूमिकामा छन्। उनीहरूसँगै शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ।

बालकलाकारका रूपमा शान्न अधिकारी र मोनिका भण्डारी रहेका छन्।
सामाजिक प्रेमकथामा आधारित चलचित्रको निर्माणमा चन्द्र ज्योती आले र पल शाहको लगानी रहनेछ। चलचित्रमा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन निर्देशन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन तथा भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।
त्यस्तै विशाल कार्की निर्माण व्यवस्थापनमा, रेनिश फागो कलर सम्पादनमा, राजु लामा र सञ्जु ढकाल मेकअप तथा हेयरमा र आशिष पौडेल पोशाक डिजाइनमा रहेका छन्।

निर्माण टिमले चलचित्रलाई आगामी फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरेको छ।
निर्माता तथा अभिनेता पल शाहले चलचित्र निर्माणमा जोडिँदा आफूलाई नयाँ अनुभव भएको बताउँदै दर्शकमाझ उत्कृष्ट चलचित्र प्रस्तुत गर्ने लक्ष्य रहेको बताए।






२९ श्रावण २०८३, शुक्रबार १६:२६ 









