काठमाडौँ । नेपाली चलचित्र ‘रंगी’का लेखक सुमन गजमेर चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले आफ्नो पहिलो निर्देशकीय चलचित्रका रूपमा ‘हाम्रो सानो घर’ निर्माणको तयारी अघि बढाएका हुन् ।
‘हाम्रो सानो घर’को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । चलचित्रले समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड (Gen Z) को जीवन, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राख्ने निर्माण पक्षले जनाएको छ ।
प्रेमकथामा आधारित हुने चलचित्रले मनोरञ्जनसँगै नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई समेत उठान गर्ने निर्देशक गजमेरले बताएका छन् ।
गजमेरका अनुसार ‘हाम्रो सानो घर’मार्फत नेपाली दर्शकलाई फरक स्वादको प्रेमकथा प्रस्तुत गर्ने प्रयास हुनेछ । “यो केवल प्रेमकथा मात्र होइन, नयाँ पुस्ताले समाज र सम्बन्धलाई कसरी हेर्छ भन्ने प्रश्न पनि चलचित्रले उठाउनेछ,” गजमेरले भने ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । कलाकार तथा प्राविधिक टोली टुंगो लागेपछि चलचित्रको छायांकन सुरु गरिनेछ ।

रे अफ आर्टले यसअघि चलचित्र ‘परिवार’ निर्माण गरिसकेको छ । उक्त चलचित्र अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको बताइएको छ । कम्पनीले चलचित्रसँगै म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत काम गर्दै आएको छ ।
निर्देशनमा डेब्यु गर्नुअघि गजमेरले ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म राइटिङ एन्ड डाइरेक्टिङ विषयमा स्नातक अध्ययन पूरा गरेका थिए । त्यसपछि उनले ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरेका छन् ।
लेखनमा समेत सक्रिय गजमेरले ‘रंगी’, ‘एक्का तीन : च्याप्टर १’, ‘शेर्वा’ र ‘भित्ते पात्रो’ लगायतका चलचित्रमा लेखकका रूपमा काम गरिसकेका छन् । उनले लेखेको ‘Hello Bro’ सिरिजसमेत प्रसारण भइसकेको छ । त्यस्तै, गजमेरले निर्देशन गरेको लघु चलचित्र ‘बत्तीको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत छनोट भइसकेको छ ।
सामाजिक यथार्थ, ग्रामीण जीवन, प्रेम, परिवार, बसाइँसराइ, वर्ग तथा जातीय विभेद र युवा पुस्ताका आकांक्षालाई कथाको केन्द्रमा राख्दै आएका गजमेरले अब ‘हाम्रो सानो घर’मार्फत निर्देशकका रूपमा आफ्नो नयाँ यात्रा सुरु गर्न लागेका हुन् ।






२९ श्रावण २०८३, शुक्रबार १७:०२ 









