काठमाडौँ । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले चलचित्रमा आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकाबीचको भावनात्मक द्वन्द्वलाई प्रस्तुत गरेको छ ।
कवितात्मक शैलीमा सुरु हुने टिजरमा ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ’ भन्ने संवाद सुनिन्छ । यही संवादले चलचित्रको मुख्य कथामा प्रेम र विवाहबीचको अन्तर तथा त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई संकेत गर्छ ।
टिजरमा अभिनेता दिल श्रेष्ठको जीवनमा दुई युवती नीति शाह र सृष्टि श्रेष्ठको प्रवेश देखाइएको छ । सुरुवातमा दिल र नीतिको सम्बन्धलाई प्रेमिल तथा रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ । उनीहरू सँगै रमाएका, हाँसेका र भविष्यका सपना बुनेका दृश्य टिजरमा छन् । तर, कथाले अचानक मोड लिँदा दिल विवाहको मण्डपमा पुग्छन्, जहाँ उनले माया गरेको युवती भने देखिँदैनन् ।
यसले दर्शकमाझ विभिन्न प्रश्न जन्माएको छ । के नीतिको ठाउँमा अचानक सृष्टिको प्रवेश हुन्छ ? वा उनीहरूबीच कुनै पारिवारिक सम्बन्ध छ ? टिजरमा देखाइएका आँसु, पारिवारिक तनाव, मदनकृष्ण श्रेष्ठको गम्भीर भाव र विभिन्न रहस्यमय दृश्यले चलचित्रमा प्रेमसँगै बाध्यता, धोका र पारिवारिक दबाबको कथा पनि जोडिएको संकेत गर्छ ।
टिजरमा नीतिलाई चञ्चल र प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ भने सृष्टि श्रेष्ठको चरित्र गम्भीर र रहस्यमय देखिन्छ । अभिनेत्री नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा अर्को आयाम थपेको छ ।
निर्देशक रेखा थापाले यसअघिका चलचित्रमा एक्सन तथा नारी शक्तिलाई प्राथमिकता दिँदै आएकी थिइन् । तर, यसपटक भने उनले इमोसनल ड्रामा र प्रेमकथालाई केन्द्रमा राखेको टिजरबाट देखिन्छ । ‘खुसी मेरो आँखामा देखियोस्, पीडा तिम्रो मनमा भए आँसु मेरै आँखाले बगाओस्’ जस्ता संवादले चलचित्रमा भावनात्मक पक्ष बलियो रहेको संकेत गर्छ ।
टिजरले चलचित्रको कथालाई सरल रूपमा अघि बढाउनेभन्दा पनि विभिन्न ट्विस्ट र भावनात्मक उतारचढावमार्फत दर्शकलाई बाँध्ने प्रयास गरेको देखिन्छ । दिल श्रेष्ठले आफ्नो साँचो प्रेम पाउँछन् वा प्रेमका लागि बलिदान दिन बाध्य हुन्छन् भन्ने प्रश्नको उत्तर भने चलचित्र प्रदर्शनपछि मात्रै खुल्नेछ ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा हरेक दृश्यलाई भावनात्मक र जीवन्त बनाउने प्रयास गरिएको छ । चलचित्र भदौ २६ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।
चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन् । त्यस्तै, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ ।
**‘दिया एण्ड अमु फिल्मस्’**को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन् ।
चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीत, सुजेनी मल्ल ड्रेस डिजाइन, प्रिया कार्की मेकअप र चुडामणी (सीएम) प्रोडक्सनमा छन् ।
चलचित्रलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन् । निर्माण पक्षले ‘माया भनेकै यस्तो होला’ प्रेमकथामार्फत सामाजिक भावना, पारिवारिक सम्बन्ध र बदलिँदो परिवेशलाई समेत प्रस्तुत गर्ने जनाएको छ ।






३० श्रावण २०८३, शनिबार ०८:४५ 









