‘बा : एक योद्धा’को प्रदर्शन स्थगित, अब मंसिर २४ गते रिलिज हुने

...

काठमाडौं । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रबा : एक योद्धाको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ । यसअघि भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब मंसिर २४ गते बिहीबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको हो ।

निर्माण कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टले सोमबार विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान विषम परिस्थितिमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने ठहर गरेको जनाएको छ ।

निर्माता वसन्त लम्सालका अनुसार देशको एक भूगोल प्राकृतिक विपत्तिमा परेर नागरिकहरू पीडामा रहेका बेला सामाजिक तथा पारिवारिक कथावस्तु बोकेको चलचित्र प्रदर्शन गर्न निर्माण टिमले उचित नठानेको हो । दर्शक, प्रदर्शक, वितरक तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमासमेत मागेको छ ।

यसैबीच, विपद्को घडीमाबा : एक योद्धापरिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । निर्माण पक्षले देश तथा विदेशमा रहेका नेपालीलाई समेत राहत तथा उद्धार कार्यमा आआफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेको छ ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सहनिर्मातामा छन् । चलचित्रले परिवार र सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष तथा जीवनभर भोग्ने चुनौतीको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।