काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चलचित्र ‘पार्वती’ टिमले ११ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेको छ । चलचित्र प्रदर्शनमा रहेकै अवस्थामा निर्माण टिमले सामाजिक उत्तरदायित्वअन्तर्गत ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
आजै अर्थ मन्त्रालय पुगेर चलचित्रकी निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा वरिष्ठ पत्रकार प्रकाश सुवेदीले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन् ।
शुक्रबार देशभरको घरेलु बक्सअफिसबाट चलचित्रले गरेको २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइमध्ये निर्माताको भागमा आउने रकम बाढीपीडितका लागि सहयोग गरिएको निर्माण टिमले जनाएको छ ।
निर्देशक नीता ढुङ्गानाले विपद्मा परेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन् । उनले चलचित्र प्रदर्शनमा रहेसम्मको कमाइबाट ५ प्रतिशत रकम बाढीपीडितका लागि प्रदान गर्ने निर्णयसमेत गरिएको जानकारी दिएकी छन् ।
‘निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरेका छौँ । यो रकमले बाढीपीडितका लागि थोरै भए पनि राहत मिल्न सक्छ,’ नीताले भनिन् ।
निर्माता हरिहर अधिकारीले पहिलो दिनको कमाइबाट प्राप्त रकम कोषमा जम्मा गरिएको र यसबाहेक छुट्टै रूपमा पनि सहयोग गरिएको बताए । उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआरमार्फत समेत थप रकम सहयोग गरिएको छ ।
यसैगरी, चलचित्रका अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार रुपैयाँ कोषमा सहयोग गरेका छन् ।
भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । विपद्को समयमा चलचित्र प्रदर्शन भइरहेको भए पनि निर्माण टिमले कमाइको केही हिस्सा पीडितको राहतका लागि छुट्याएर सहयोग गरेको हो ।
वितरक करण श्रेष्ठका अनुसार चलचित्रले दोस्रो दिन शनिबार देशभरबाट करिब ४२ लाख रुपैयाँ ग्रस कमाएको थियो । चलचित्रले सोमबार पनि देशभर उल्लेख्य शो पाएको छ भने मंगलबार देशभर एक सयभन्दा बढी शो कायम रहेको निर्माण पक्षले जनाएको छ ।
नीता ढुङ्गानाको निर्देशन तथा मुख्य भूमिका रहेको ‘पार्वती’मा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी र राधिका कँडेललगायत कलाकारको अभिनय छ ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा र शिवम् अधिकारीको स्क्रिप्ट रहेको चलचित्रका निर्माता हरिहर अधिकारी तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन् । चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गरिरहेका छन् ।






१५ भाद्र २०८३, सोमबार १७:१९ 









