भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक

...

काठमाडौं । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रकार्की साइँलाको ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले मंगलबार ट्रेलर सार्वजनिक गरेको हो।

मुभिज डिजिटेनमेन्टयुट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवनकथामा केन्द्रित छ। भारी बोकेर जीविकोपार्जन गर्ने कार्की साइँलाको विवाह, सन्तानको चाहना र गाउँलेको हेपाइ प्रवृत्तिलाई ट्रेलरमा देखाइएको छ।

कार्की साइँला आफूले दुःख पाए पनि अरूका लागि लमी बन्ने पात्रका रूपमा प्रस्तुत छन्। गाउँमा आएकी एक युवती (प्रियना आचार्य)को भारी बोकेर सहयोग गरेपछि उनीबाट पैसा लिनसमेत अस्वीकार गर्छन्। यही क्रममा उनीहरूबीच प्रेम हुँदै विवाह र सन्तानसम्मको यात्रा ट्रेलरमा देखाइएको छ।

ट्रेलरले पुरुषले आफ्नो पीडा र भावना व्यक्त गर्न पाउने सामाजिक वातावरणमाथि पनि प्रश्न उठाएको छ।महिला जहाँ रोए पनि हुन्छ, तर पुरुषले रुन एकान्त खोज्नुपर्छभन्ने भावनालाई प्रस्तुत गर्दै फिल्मले पुरुषको भावनात्मक संघर्षलाई समेत उठान गरेको देखिन्छ। कार्की साइँलाको जीवनले अन्ततः कस्तो मोड लिन्छ भन्ने कुरा भने फिल्म प्रदर्शनपछि नै खुल्नेछ।

फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मालगायत कलाकारको अभिनय छ।

डम्बर राईको कथामा बनेको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले लेखेका हुन् भने निर्देशन राजेन्द्र बस्नेतको रहेको छ। बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता तथा अनन्त राई कार्यकारी निर्माता हुन्।

फिल्ममा दिप्सन लिम्बू र संकेत अगस्थीको संगीत रहेको छ। यसअघि सार्वजनिकलग्यौ परानगीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ। सिबि भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी केसीको शृङ्गार रहेको फिल्मको पोस्ट प्रोडक्सन ग्लोबल रिल मोशन पिक्चर्सले गरेको छ।

मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको चलचित्रलाई कुबेर फिल्म्सले वितरण गर्नेछ।