‘बेहुली’को ट्रेलरले रच्दै इतिहास: २४ घण्टामै १० लाख भ्युज पार

...

काठमाडौंयही शुक्रवार, भदौ २६ गतेबाट सिनेमाघरहरूमा प्रदर्शनको पर्खाइमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्रबेहुलीले रिलिज अगावै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ। आइतबार साँझ सार्वजनिक गरिएको यसको सशक्त ट्रेलरले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ। ट्रेलर सार्वजनिक भएको जम्मा २४ घण्टाभित्रै १ मिलियन (१० लाख) भन्दा धेरै भ्युज प्राप्त गर्दै यसले दर्शकको मुटुमा राज गर्न सफल भएको छ। दर्शकहरूबाट प्राप्त यो अपार माया र अत्यधिक सकारात्मक प्रतिक्रियाले चलचित्रले बक्स अफिसमा व्यापक र आक्रामक ओपनिङ गर्ने बलियो सङ्केत दिएको छ।

१८ घण्टामै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) कब्जा गरेकोबेहुलीको जादु स्वदेशमा मात्र सीमित रहेन। नेपाली दर्शकहरूको बाक्लो उपस्थिति रहेका खाडी मुलुकदेखि युरोपसम्म यसले आफ्नो बलियो प्रभाव छाड्दै विश्वका दर्जन बढी देशहरूको ट्रेन्डिङ चार्टमा सानदार इन्ट्री मारेको थियो। यो चलचित्रको ट्रेलरले कुवेत, कतार, रोमानिया, साउदी अरब, पोर्चुगल, मलेसिया, दक्षिण कोरिया, जापान, युएईमा, अस्ट्रेलिया लगायतमा मुलुकमा ट्रेन्डिङमा पुगी आफ्नो सफलताको झन्डा गाड्न सफल भएको छ।

ट्रेलरमा माया, पारिवारिक सम्बन्ध र मित्रताका विविध आयामहरूलाई निकै सुन्दर र कलात्मक ढङ्गले उनिएको छ। विशेष गरी सामाजिक सञ्जालमाकुल ब्वाईको उपनामले चिनिएका पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबिचको अनस्क्रिन रोमान्टिक केमेस्ट्रीले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ। यसका अलावा अभिनेता सुशान्त कार्कीको प्रहरीको दमदार अवतार, लोकप्रिय कमेडियन पदम तामाङको हँसाउने शैली र सन्तोष बानियाको विल्कुलै फरक एवं प्रभावशाली अभिनयले ट्रेलरलाई कौतुहलताको शिखरमा पुर्‍याएको छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको यस चलचित्रका प्रस्तुत कर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्।