काठमाडौं । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी)को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ हुने भएको छ । प्रतियोगिताका लागि आवेदनसमेत खुला गरिएको आयोजकले जनाएको छ ।
फेसन, सौन्दर्यसँगै व्यक्तित्व, नेतृत्व क्षमता र प्रतिभालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको प्रतियोगिताले नेपाली युवतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजक संस्थाकी प्रमुख सुचिता सचीले बताइन् ।
आयोजकका अनुसार प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सेप्टेम्बर ११ देखि नोभेम्बर २८, २०२६ सम्म सञ्चालन हुनेछन् । प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाउन सक्नेछन् । सहभागीका लागि न्यूनतम १५५ सेन्टिमिटर (५ फिट १ इन्च) उचाइ तोकिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले एक हजार रुपैयाँ आवेदन शुल्क बुझाउनुपर्नेछ । आवेदन संकलनपछि आगामी असोज १० गते शनिबार अडिसन आयोजना गरिनेछ । अडिसनबाट छनोट हुने २५ जना प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।
यसै प्रतियोगितामार्फत विभिन्न उमेर समूहका लागि तीन अन्तर्राष्ट्रिय उपाधिका नेपाली प्रतिनिधि छनोट गर्ने तयारीसमेत भइरहेको आयोजकले जनाएको छ । प्रस्तावित योजनाअनुसार ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’का लागि योग्य प्रतिनिधि छनोट गरिनेछ ।
विभिन्न उमेर समूहका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना गर्दा समय र व्यवस्थापनमा कठिनाइ हुने भएकाले एउटै राष्ट्रिय मञ्चबाट योग्य प्रतिनिधि छनोट गर्ने अवधारणा अघि सारिएको आयोजकको भनाइ छ । अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त डाइरेक्टरसिप लेटरमा उल्लेखित आधिकारिक टाइटल तथा प्रावधानका आधारमा प्रतियोगिताको संरचनालाई अन्तिम रूप दिइने बताइएको छ ।
‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’को विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । आयोजकका अनुसार ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना हुनेछ ।
प्रतियोगितामा बाह्य सौन्दर्यसँगै सहभागीको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतना लगायतका पक्षलाई समेत मूल्यांकन गरिने प्रमुख सुचिता सचीले बताइन् ।
सिआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीका लागि प्रतियोगितालाई आफ्नो क्षमता प्रदर्शन गर्ने र भविष्यमा व्यावसायिक अवसर खोज्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा अघि बढाउने जनाएको छ । भविष्यमा ‘मिस’ र ‘मिसेस’ विधाका प्रतियोगिता छुट्टाछुट्टै रूपमा आयोजना गर्ने योजनासमेत रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले आयोजक प्रतिनिधि माधुरी कर्णसँग सम्पर्क गरी आवेदन तथा अन्य जानकारी लिन सक्नेछन् ।







२९ भाद्र २०८३, सोमबार १४:११ 









