‘आ बाट आमा २ फस्टलुक पोस्टर: ‘चर्किएको यो घरले फेरि सोध्यो… यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?’

...

काठमाडौं । नेपाली समाजमा चाडपर्वसँगै गहिरिँदै गएको पारिवारिक विछोड र परदेशिएका सन्तानको पर्खाइलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्रआ बाट आमा २को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमबार चलचित्रको पहिलो झलक सार्वजनिक गरेको हो।

चर्किएको यो घरले फेरि सोध्योयो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा?’ भन्ने भावुक स्लोगनसहित सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक पक्षको संकेत गरेको छ।

पोस्टरमा चाडपर्वको समयमा नेपाली परिवारले भोग्ने विछोड, आमाको पर्खाइ र बिस्तारै भत्किँदै गएको पारिवारिक संरचनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। फुटेका सिसा, पुराना तस्बिर र परिवारका सदस्यहरूको भावुक दृश्यले छुट्टिएका परिवार तथा पुराना सम्झनालाई संकेत गर्छ।

पोस्टरको एक दृश्यमा प्रदीप रावत र विपना थापा अँगालो हालेर रोइरहेको देखिन्छ। उनीहरूमाथि उडिरहेको हवाईजहाजले रोजगारी तथा अवसरका लागि घर छाड्न बाध्य नेपाली युवाको कथालाई संकेत गरेको छ। त्यस्तै, पल शाह र साइग्रेस पोखरेलका तस्बिरले परिवारसँग जोडिएका विगतका खुसीका क्षणलाई सम्झाउँछन्।

दशैँको माहोल झल्काउने अर्को दृश्यमा पल शाह र साइग्रेसलाई निधारमा रातो टीका र जमरा लगाएको अवस्थामा देखाइएको छ। उनीहरूलाई आमाले अँगालो हालेर रोइरहेकी छन्, तर आमाको निधारमा भने टीका र जमरा छैन। यसले सन्तानको आगमनमा पनि आमाको पीडा र जीवनको थकानलाई संकेत गर्छ।

पोस्टरमा लिङ्गे पिङसहितको गाउँघरको दशैँ पनि देखाइएको छ। विपना थापा पिङ खेलिरहेकी छन् भने पल शाहले उनलाई हल्लाइरहेका छन्। पछाडि प्रदीप रावत तथा आकाश श्रेष्ठ, साइग्रेस, गजित विष्ट र निकिता आचार्यलाई खुसी मुद्रामा देख्न सकिन्छ।

यसैगरी, अर्को दृश्यमा विपना थापा र साइग्रेस खुसी देखिँदा प्रदीप र पल शाह भने भावुक मुद्रामा छन्। पल शाहको आमाबुबासँगको ब्ल्याक एन्ड ह्वाइट तस्बिरसँगै रिस्ता गुरुङको रंगीन तस्बिर पनि पोस्टरमा समेटिएको छ।

फस्टलुकको मुख्य स्लोगनले चलचित्रको मूल भावलाई अझ स्पष्ट पार्छ। घरका भित्ता र सिसा मात्र होइन, सन्तानको बाटो हेर्दाहेर्दै आमाको मन पनि चर्किएको छ। चाडपर्वमा रित्तिँदै गएका नेपाली गाउँघर, विदेशिएका सन्तान र उनीहरूको पर्खाइमा जीवन बिताइरहेका आमाहरूको कथालाई चलचित्रले पर्दामा ल्याउने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा पल शाह, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् भने प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।

अघिल्लो वर्षको सफल चलचित्रआ बाट आमाको सिक्वेलका रूपमा निर्माण भएको चलचित्रआ बाट आमा २लाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। कथा तथा पटकथा पनि पन्तकै हो।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरसँग रहेको छ।

चलचित्र आगामी असोज ३० गते, फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।