काठमाडौँ । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर स्टारर नेपाली फिल्म ‘रातो घेरा–द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ । फिल्मको इन्डक्ल्याप काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो ।
निर्देशक अनिल बुढा मगरको निर्देशनमा तयार भएको फिल्म सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । सामाजिक तथा भावनात्मक विषयवस्तुलाई रहस्यसँग जोडेर प्रस्तुत गरिएको फिल्मले मानवीय सम्बन्धका विविध पाटोलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।
फिल्ममा दयाहाङ राई र मिरुना मगरसँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, सुरज तमु, खड्गबहादुर पुन (खबपु), अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, उमेश सोनम, बिजया पौडेल, सुभाषप्रसाद गजुरेल, सुवास सिंह ठकुरी, सञ्जय कुमार, रमिक सिंह ठकुरी र सुनिल तामाङको अभिनय रहेको छ ।
फिल्ममा जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ ९भोज० र सरुन शेरचन निर्माता छन् भने सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा रहेका छन् । निर्माण पक्षले विषयवस्तु र निर्माण शैली दुवै हिसाबले फिल्मलाई नेपाली सिनेमामा फरक स्वाद दिने गरी प्रस्तुत गर्ने लक्ष्य लिएको जनाएको छ ।
निर्माता जीवन गुरुङका अनुसार सत्य घटनामा आधारित सामाजिक तथा भावनात्मक कथालाई अझ भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्चस्तरीय बनाउन निर्माणका क्रममा विशेष ध्यान दिइएको छ । फिल्मको कथा तथा पटकथा राजु स्याङताङले लेखेका हुन् भने शिशिर बिसंखेले छायांकन गरेका छन् । फिल्ममा मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत रहेको छ ।
फिल्मका गीतमा सागर आले र शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ। गीतमा प्रदीप लामा र जुना सुन्दासको अभिनयसमेत देख्न सकिने निर्माण पक्षले जनाएको छ । गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका छन् । फिल्मको सम्पादन जीवन थापाले गरेका छन् भने फिरोज खड्का मुख्य सहायक निर्देशकका रूपमा कार्यरत छन् । सहायक निर्देशकमा अनिल दाहाल र सिर्जना भुजेल, प्रोडक्सन म्यानेजरमा सन्देश राई, कस्ट्युम डिजाइनमा जानकी कडायत, मेकअपमा विक्रम थापा, हेयरमा कल्पना लिम्बु, आर्ट निर्देशनमा कृपा खड्गी तथा प्रोडक्सन डिजाइनमा रामलाल खड्का आबद्ध छन् ।
फिल्मको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ । निर्माण पक्षका अनुसार ‘रातो घेरा–द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
सत्य घटनामा आधारित कथावस्तु, दयाहाङ राई र मिरुना मगरसहितको बलियो कलाकार टोली, गीतमा देखिने प्रदीप लामा र जुना सुन्दासको अभिनय तथा अनुभवी प्राविधिक टिमका कारण ‘रातो घेरा’ यस वर्षका प्रतीक्षित नेपाली फिल्ममध्ये एक बन्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।







२९ भाद्र २०८३, सोमबार १५:४० 









