काठमाडौँ । सिनेमा ‘ए मरो हजुर ५’को नियमित छायांकन पशुपतिबाट सुरु भएको छ । २५ दिनको सेड्युलसहित आजदेखि सिनेमाको छायांकन सुरु गरिएको अभिनेत्री तथा निर्देशक झरना थापाले बताइन् ।
यसअघि गत साउन २९ गते सिनेमा निर्माण टिम ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेर बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको थियो । जहाँ उनीहरूले सिनेमाको केही सिन छायांकन गरेका थिए । त्यसबेला बडीमालिकाबाट नै नियमित छायांकन गर्ने तयारी थियो ।
तर बाजुराका केही स्थानमा सुट गरे पनि आज पशुपतिबाट सिनेमाको नियमित छायांकन थालिएको निर्देशक थापाले स्पष्ट पारिन् । झरनाकै निर्देशनमा बन्ने सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिने छन् ।
अभिनेता अनमोल र अभिनेत्री सुहानाको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।
अनमोल र सुहानासहित सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ ।
‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी छन् । उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् कि नयाँ क्यारेक्टरमा भन्ने निर्माण टिमले खुलाएको छैन ।
सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहने सिनेमाको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ । संगीत संयोजन उदय राज पौडेलले गर्नेछन् ।

सिनेमाको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा रहेका छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन् । निर्माण सहायकमा रञ्जित कोइराला रहनेछन् । कास्टिङ डिरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन् ।
त्यस्तै पोस्ट(प्रोडक्सन प्रमुख साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअप र हेयरमा रोनिशा अधिकारी छन् ।
सिनेमाको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् । यो सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ ।
‘ए मेरो हजुर’ का चारै शृंखलाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेका थिए । स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो श्रृंखलापछि यसको दोस्रो शृंखलाबाट झरना थापाले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन् । त्यसयता ‘ए मेरो हजुर’ शृंखलाका झरना थापाले नै निर्देशन गर्दै आएपनि यसपटक उनको अभिनय समेत दर्शकले हेर्न पाउनेछन् ।







२ आश्विन २०८३, शुक्रबार १६:५३ 









