खेम सेन्चुरी अब फिल्मको हिरो, बसन्ती निर्माण घोषणा

...

काठमाडौँ । नेपाली लोकगीतको क्षेत्रका चर्चित गायक खेम सेन्चुरी अब फिल्मको अभिनेता बन्ने भएका छन् । उनी निर्माता तथा निर्देशक नारायण रायमाझीले निर्माण गर्न लागेको ‘बसन्ती’मा मुख्य अभिनेतामो अनुबन्ध भएका हुन् । निर्देशक रायमाझीले शुक्रबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरेका हुन् ।

यसअघि पनि ‘बसन्ती’ नाममा चलचित्र निर्माण भइसकेको छ । २०५७ सालमा नीर शाहले यही नाममा चलचित्र निर्देशन गरेका थिए । उक्त सिनेमा उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास ुबसन्तीुमा आधारित थियो । उक्त चलचित्र प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ चलचित्र निर्माण गर्न लागेका हुन् ।

यो निर्देशक रायमाझीको चौथो निर्देशकीय चलचित्र हो । यसअघि उनले ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए । यी सवै चलचित्र बक्सअफिसमा सुपरहिट भएका थिए ।

असोज ३ गते भोलि शनिबारदेखि चलचित्रको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए । चलचित्र काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।

रिमा फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने चलचित्रले कस्तो कथा प्रस्तुत गर्नेछ भन्ने विषय निर्माण पक्षले गोप्य राखेको छ । ‘बसन्ती’मा संगीतकार खेम सेन्चुरी र मोडल टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन् ।

उनीहरूका साथै चलचित्रमा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ ।

निर्देशक रायमाझीले नै लगानी गर्ने चलचित्रको कथा रमेश बिजिले लेखेका हुन् । चलचित्रको मुख्य सह निर्देशकमा चन्द्र कुमार भट्टराई, एशोसियट निर्देशकमा सुजता बस्याल राना, सह(निर्देशकका रूपमा यगे बहादुर राउत र सन्जीव चन्द रहेका छन् ।

चलचित्रको गीतमा रमेश बिजि, लालगोपाल सुवेदी, बिबि अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ । संगीतकारमा बिबि अनुरागी र नारायण रायमाझी रहने छन् । चलचित्रछायांकन शिव ढकालले गर्नेछन् । सह(छायांकारमा जयन्द्र रावल जोडिएका छन् ।

नहकुल खड्काले सम्पादन गर्ने चलचित्रमा रोशन विश्वकर्मा र रविता मगरको कोरियोग्राफी, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन तथा मिक्सिङ, दिनेश बिष्टको भिएफएक्स, धन बहादुर राई (सन्देश)को प्रोडक्सन डिजाइन, सेट डिजाइन तथा निर्माणमा हुम बहादुर बिक, आर्टमा धुर्व कार्की र श्रृंगार सरोज बुढाथोकी, ड्रेस डिजाइन श्रेया लो र लाइन प्रोड्युसरमा खेमराज अर्याल (मिराज) रहने छन् ।