‘कबड्डी ५’को फर्स्टलुक सार्वजनिक, कात्तिक ६ गते प्रदर्शनमा आउने

...

काठमाडौं । नेपाली सिने जगतको सफल फ्रेन्चाइजकबड्डीको पाँचौँ शृङ्खलाकबड्डी ५ः आफ्टर द फाइनल म्याचको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र काजी (दयाहाङ राई), बीके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)लाई उनीहरूकै चर्चित चरित्रमा प्रस्तुत गरिएको छ । पोस्टरमा काजी पार्कको कुर्सीमा हातमा क्रिकेट ब्याट लिएर सोचमग्न देखिन्छन् भने बीके र छन्त्यालले उनलाई गम्भीरतापूर्वक नियालिरहेका छन् । पोस्टरले चलचित्रको कथाबारे कौतुहलता बढाएको छ ।

कबड्डीका यसअघिका चारै शृङ्खला व्यावसायिक रूपमा सफल भइसकेका छन् । विशेषगरी चौथो शृङ्खलाकबड्डी ४ः द फाइनल म्याचले करिब २२ करोड रुपैयाँको ग्रस कलेक्सन गर्दै लामो समयसम्म सर्वाधिक कमाउने नेपाली चलचित्रको रेकर्ड कायम गरेको थियो ।

चौथो शृङ्खलाकै नाममाफाइनल म्याचभनिए पनि पाँचौँ शृङ्खला किन आवश्यक भयो भन्नेबारे निर्देशक रामबाबु गुरुङले दर्शकको माग र पात्रहरूको अधुरो कथालाई मुख्य कारणका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार चौथो भागमा केही पात्रको कथा पूर्ण रूपमा टुंगिन नसकेपछि त्यसलाई पूरा गर्न पाँचौँ शृङ्खला निर्माण गरिएको हो ।

निर्माण टिमले पनि चलचित्र केवल ब्राण्डको निरन्तरता वा व्यावसायिक उद्देश्यले मात्र नभई कथाको माग र पात्रहरूको अधुरो यात्रा पूरा गर्न तयार गरिएको जनाएको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो । चलचित्रमा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङसँगै विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर वाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङएलजीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सागर राज हुन् । कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । चलचित्रलाई नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्क तथा विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।

कबड्डी ५ः आफ्टर द फाइनल म्याचकात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।