‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सम्पन्न, सेटमै भावुक भए मदनकृष्ण श्रेष्ठ

...

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । असोज २ गतेदेखि काभ्रेको धुलिखेलमा सुरु भएको चलचित्रको पहिलो सेड्युलको छायांकन सकिएको हो ।

छायांकनका क्रममा मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित भएर प्रत्येक दृश्यको अवलोकन गरेका थिए । उनले आवश्यक सुझावसमेत दिएका थिए । आफ्नै जीवनका घटनालाई पर्दामा उतारिएको देख्दा मदनकृष्ण भावुक बनेको निर्देशक मिलन चाम्सले बताएका छन् ।

“उहाँ आफ्नो जीवनीमा बनेको चलचित्रको छायांकन हेरेर निकै भावुक पनि हुनुभएको छ । चलचित्रको काम देखेर सन्तुष्ट हुनुहुन्छ,” निर्देशक चाम्सले भने, “जसको कथामा चलचित्र बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ ।”

निर्देशक चाम्सका अनुसार चलचित्रको दोस्रो चरणको छायांकन दसैँलगत्तै सुरु हुनेछ ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारीले अभिनय गरिरहेकी छन् । त्यस्तै, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री र उनकी श्रीमतीको भूमिकामा वर्षा राउत देखिनेछन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका सुख–दुःख, संघर्ष र आरोह–अवरोहलाई चलचित्रमा समेटिनेछ । मदनकृष्ण र हरिवंशको लोकप्रिय जोडीलाई नेपाली कला क्षेत्रमा ‘मह जोडी’का रूपमा चिनिन्छ ।

मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहनेछ । बाल कलाकारका रूपमा जेविस र जेविन श्रेष्ठ छन् ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन् । चलचित्रमा बाबु श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, अलिश कार्कीको ब्याकग्राउन्ड म्युजिक तथा भरत कँडेलको साउन्ड डिजाइन रहनेछ ।

‘म मदनकृष्ण’ आगामी चैत ४ गतेदेखि प्रदर्शनमा आउनेछ । चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।