काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को ट्रेलर–२ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा सिनेमाका मुख्य पात्रले आफ्नो भूमिका प्रस्ट पार्ने प्रयास गरेको देखिन्छ । ट्रेलरको केन्द्रमा हरिवंश आचार्य छन् । पूरै ट्रेलर उनकै वरपर घुम्छ ।
पृथ्वीमा रहेका आफ्ना भाइहरु दुखी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्टिर उर्फ हरिवंश समस्यामा रहेका भाइहरुलाई त्यसबाट कसरी छुट्कारा दिलाउने भन्नेमा छन् । हरिवंश भीम, अर्जुन, सहदेव भन्दै नामाकरण गर्दै आफ्नो चार भाइ बनाइरहेका छन् । अनि जोजो समस्यामा छन्, उनीहरुलाई सहयोग गर्दै हिँडिरहेका छन् । अन्याय र विकृतिविरुद्ध उनी उभिएको देखिन्छं । अथवा समस्यामा परेकाहरुको उद्धारकमा रुपमा हरिवंश देखिएका छन् ।
छोटा कपडा लगाएर क्यासिनोमा युवती देखेर उनी आङ ढाकिदिन्छन् । सभ्य समाज निर्माण हुनुपर्छ भन्ने उनको उद्देश्य रहेको देखिन्छ । अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइ मिलेर गरेको संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ । सिनेमाको हुक लाइन नै यही रहेको ट्रेलरले संकेत गर्छ ।
यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।




१८ कार्तिक २०८३, मंगलवार १९:४९ 








