असोज, काठमाडौं।

नेपाली चलचित्रको बढ्दो विस्तारसंगै पछिल्लोसमय चलचित्रलाई अन्तरराष्ट्रिय बजारमा पनि व्यापक बनाउनका लागि विभिन्न कार्यक्रमहरु हुँदै आएको छ। यस्तैमा दक्षिण कोरियामा पहिलो पटक नेपाली फिल्मको अवार्ड आयोजना हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा हुने पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ को जानकारी दिइएको छ।

यो अवार्डलाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया(एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

आयोजकले सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली चलचित्रलाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरेको छ । कुल २० विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले जानकारी दिए ।

पूर्व सांसद मोहन राइले अवार्डको लोगो अनावरण गरेका थिए । यस्तै, निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइले संयुक्त रुपमा अवार्ड घोषणाको उद्घाटन गरेका थिए । अवार्ड समारोहमा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै योगदान पु¥याउने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

बक्स अफिस ग्रुपका निर्देशक यज्ञराज सेडाइले अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने बताए । यो अवार्डको जुरी संयोजकमा पत्रकार भरत शाक्य रहेका छन् ।