बैशाख, काठमाडौं ।

बर्ष २०१७ की मिस नेपाल निकिता चान्दकले चलचित्रमा डेब्यु गर्ने कुराले यतिखेर चलचित्रक्षेत्र तातेको छ । अझ बिशेषतः उनको पारिश्रमिकको बिषय अझ बढी चर्चामा छ । सामाजिक सञ्जालमा उनले १० लाख पारिश्रमिक लिएको कुरामा बहश चलिरहँदा निकिताले भने आफुले पारिश्रमिकको कुरा नखुलाएको बताइन् । उनले कसैलाई पनि आफ्नो पारिश्रमिकको बारेमा नसुनाएको र १० लाख लिएको कुरा झुट भएको बताएकी छिन् । उनले हालै ‘रानी महल’ नामक चलचित्रमा साइन गरेसँगै यस्तो चर्चा चल्न थालेको हो ।

‘बाहिर मिडियामा आएको खबरबारे म आँफैलाई थाहा छैन, मैले यति पारिश्रमिक लिएँ भन्नु उचित नहोला तर १० लाख भने लिएकी छैन’, उनले एक अन्तर्वार्तामा भनेकी छिन् । साथै उनले सामाजिक सञ्जालतिर आफ्नो बारेमा आएका समाचारलाई लिएर परिवारले नै जिस्काएको पनि सुनाइन् । उनको पारिश्रमिकको बिषयलाई लिएर आफ्ना बुबाले समेत जिस्काएको बताएकी छिन् ।

निकिताले अहिले आफु कलाकार बन्नका लागी संघर्ष गर्नुपर्ने दिन आएको बताएकी छिन् । उनले अभिनय गर्ने कलाकार बन्ने आफ्नो सपना भएको र चलचित्रमा कामगर्नपाउँनु आफ्नो लागी खुसीको कुरा भएको बताइन् । ‘जब भारतमा पढ्न गए तब अभिनयको बारेमा बुझ्ने मौका पाए । बिगत ६–७ बर्ष देखि मेरो फोकस कलाकार बन्नुमा रहेको छ । चलचित्र रानीमहल साइन गरेसँगै एउटा सपना पुरा भएको छ ।’ खुसी हुदैँ निकिता सुनाउछिन् ।

निकिता ‘रानीमहल’मा नव नायक प्रितमराज सेञ्चचुरीसँग डेव्यु गर्दैछिन् । चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । निकिताको अनुसार चलचित्रको छायाँकन दुई साता पछि सुरु हुनेछ । यसअघि चलचित्रको मुख्य नायिकामा बर्षा शिवाकोटी फाइनल गरिएको थियो तर चलचित्रको छायांकन शुरु नहुँदा बर्षाले कुर्न नसक्ने भन्दै हात झिकेकी थिइन् । साथै उनीसँगै खलनायकको भूमिकामा फाइनल भएका प्रसान्त ताम्राकारले पनि बर्षासँगै चलचित्रबाट हात झिकेका थिए । अहिले उनीहरु जयशम्भु नामक चलचित्रको छायांकनमा ब्यस्त छन् ।