बैशाख, काठमाडौं ।

गएको ०७२ सालको भूकम्पले एक बालिकाको जीवनमा ल्याएको उतारचढावलाई मुख्य बिषय बनाएर निर्माण गरिएको चलचित्र ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । चलचित्र सिन्धुपाल्चोकको एउटा विकट गाउँ तौथलीकी सन्ध्या नाम गरेकी बालिकाको जीवनमा आधारीत रहेको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । भूकम्प गएको तीनबर्ष पुगेको दिनमा नै यस कार्यक्रम गरिएको निर्माण टीमले जनायो ।

चलचित्रका निर्देशक पवन केसीले चलचित्रले भूकम्प पछि एउटी गाउँकी युवतीले भोग्ने दर्दनाक कथालाई प्रस्तुत गरिएको बताए । ‘भूकम्पमा आमाबाबु गुमाएपछि काकाकाकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर काकाबाट कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथालाई फिल्मले देखाउनेछ ।’, उनले भने । यस्तै चलचित्रका कार्यकारी निर्माता राजेश रिजालले भूकम्प पछिको क्रन्दनलाई चलचित्रमा देखाउन खोजिएको बताए । ‘भूकम्पकै कथाको चलचित्र भएर हामीले भूकम्प गएकै दिनको सम्झनामा वैशाख १२ मै कार्यक्रम राखेका हौं ।’ निर्माता रिजालले भने ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, पूर्व अध्यक्षद्वय रमेश बुढाथोकी र रविन्द्र खड्काले फिल्मले गहन विषय उठान गरेकाले दर्शकका लागि रुचीकर हुने बताए । चलचित्रकी प्रमुख कलाकार मरक्युरी श्रेष्ठले चलचित्रमा काम गर्दा शुरुमा असजिलो लागे पनि पछि सहज भएको बताइन् । चलचित्र फेस्टिभललाई लक्षित गरिएको चलचित्रमा निर्देशक केसीकै कथा, पटकथा, संवाद छ । चलचित्रमा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामा लगायतको अभिनय छ । राजेश रिजाल कार्यकारी निर्माता रहेको चलचित्रमा अशोककुमार बस्नेतको छायांकन, राजेशकै गीत र संगीत र सन्देश परियारको सम्पादन छ ।