आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘गोपि’को चर्चा पछिल्लो समय निकै छ । कहिले कलाकार छनोटको बिषयले चर्चा पाएको हुन्छ भने कहिले छनोट भएको कलाकार निस्किएको बिषयले चर्चा पाइरहेको छ । केहिदिन अघिमात्रै यो चलचित्रबाट नायिका वर्षा सिवाकोटी बाहिरिएकी थिइन् । उनी बाहिरिएसँगै अर्की नायिका बर्षा राउत भित्रिएकी थिइन् । अहिले फेरी अर्का कलाकार नायक खगेन्द्र लामिछाने पनि बाहिरिएका छन् । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले खगेन्द्रको ठाउँमा अभिनेता विपिन कार्की भित्रिएको औपचारिक जानकारी गराएको हो । यहि आउँदो भदौ १ गतेबाट छायांकनमा निस्किने तयारीमा रहेको चलचित्र टिममा खगेन्द्र निस्किएसँग बिपिनले हतार हतारमा स्क्रिप्ट पढेर भित्रिएका छन् ।

निर्देशक दीपेन्द्र लामाले आपसी समझदारीबाटै खगेन्द्रले चलचित्र छाडेको बताएका छन् । उनले ‘गोपी’ को स्क्रिप्टमा खगेन्द्रको ठुलो योगदान रहेको बताए । निर्देशक लामाका अनुसार, खगेन्द्र र वर्षाको ठाउँमा विपिन र वर्षा राउत फिट हुने भएकाले अनुबन्ध गरिएको हो । पत्रकार सम्मेलनमा विपिनले आफूलाई स्क्रिप्ट चित्त बुझेका कारण ‘गोपी’ गर्न तयार भएको बताए । अभिनेता बिपिन चलचित्र गर्नुभन्दा अघि चलचित्रको स्क्रिप्ट राम्रोसँग अध्ययन गर्ने अभिनेतामा पर्छन् । उनले एक महिना भन्दा बढि समय स्क्रिप्ट अध्ययन लाई लगाउने गर्छन् । तर यो चलचित्रका लागी उनले २४ घण्टामै काम गर्ने निर्णय लिएका हुन् । ‘मैले २४ घण्टामा नै स्क्रिप्ट पढेर साइन गरेको हुँ । स्क्रिप्ट मन परेपछि फिल्म छाड्नु हुन्न भन्ने लाग्यो अनि काम गर्न राजी भएँ ।’ बिपिनले भने ।

अभिनेत्री वर्षा राउतले आफूलाई स्क्रिप्ट औधि मन परेका कारण चलचित्रका कामगर्न राजी भएको बताइन् । ‘मलाई स्क्रिप्टसँगै टिम पनि राम्रो लाग्यो । राम्रो चलचित्रमा काम गर्ने अवसर मैले गुमाउन चाहिनँ ।’, वर्षाले भनिन् । कार्यकारी निर्माता श्रीधर पौडेलले आफूले स्क्रिप्ट र निर्देशकमाथि विश्वास गरेर लगानी गर्न तयार भएको बताए । ‘मैले चलचित्रमा लगानी गर्दा यहि कलाकार चाहिन्छ भनेको छैन, स्क्रिप्ट राम्रो छ त्यसैले लगानी गर्न इच्छुक भएको हुँ’, पौडेलले भने ।

आरोही केसी निर्माता रहेको ‘गोपी’ चलचित्रका गीतमा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने छ भने विप्लव प्रतीक र बुद्धिसागरले गीत लेखेका छन् । चलचित्रमा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्र यहि बर्षको चैत १५ गते प्रदर्शन हुने बताइएको छ ।