आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ माघ २५ मा हलमा लाग्ने भएको छ । निर्माण टिमले फिल्मको फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन् ।

फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । फिल्ममा आउनु अघि आशिषको पृष्ठभूमि मोडलिङ हो भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । उनले भारतमा केही चलचित्रलमा अभिनयको अनुभव संगालिसकेकी छिन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

फिल्मको निर्देशन मुस्कान ढकालले गरेका छन् । उनले यसअघि ‘नाइँ नभन्नू ल’ सिरिजको तेस्रो भाग निर्देशन गरेका थिए । फ्लोरमा गएको लगभग एक वर्षपछि फिल्म हलमा आउन लागेको हो । निर्देशक ढकालले विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए ।

‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो । अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं,’ढकालको भनाइ छ ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन् ।