मंसिर, काठमाडौं ।

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को सोह्रौं संस्करण सुरु भएको छ । मंसिर २१ देखि २५ गतेसम्म (७ देखि ११ डिसेम्बर) राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा नेपाल लगायत ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाइनेछ । महोत्सव आनी छोइङ डोल्मा, जेनिफर पिडम, दावा यामजुम शेर्पा, सरिता मिश्र र लक्ष्मी शर्माले वुमन मुभ माउन्टेनको ब्यानर खोलेर उद्घाटन गरेका थिए ।

महोत्सवको सुरुआत अस्ट्रेलियाली डिरेक्टर जेनिफर पिडमको माउन्टेन फिल्मबाट भएको थियो । फिल्म ‘माउन्टेन’ ले पर्वतको सौन्दर्य, रहस्य र अद्भूत शक्तिलाई अतीव सुन्दरढंगले प्रस्तुत गरेको छ । यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइने छन् ।

काठमाडौं महानगरपालिका सहआयोजक रहेको किम्फ २०१८ को ट्यागलाइन ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको छ । जसको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु हो । यसपटक किम्फले नेपाली ट्राभ्लर्ससँग मिलेर ‘ट्राभेल इज एन अल्टिच्युड’ शीर्षकमा ३५ वर्षमुनिका युवाहरूको सर्ट फिल्म प्रतियोगिता गर्दैछ । त्यसैगरी नेपाल पानोरमा खण्डमा परेका फिल्महरूमा युवाका प्रतिभा हेर्न पाइन्छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर १५ सय, एक हजार र ५ सय बराबरको नगद पुरस्कार प्रदान गरिने छ जसको प्रायोजन क्रमशः नेपाल पर्वतारोहण संघ, दीपलक्ष्मी फाउन्डेसन र थामसेर्कु टेकिङले गरेका छन् ।

यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अस्टे«लियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका छन् । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्मबाट उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रको छनोट गर्नेछ ।