आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

यही २७ माघमा ड्रिम वल्र्ड फिल्म मेकर्स प्रालिले ‘सोसियल मिडिया फिल्म अवार्ड–२०१८’ गर्ने भएको छ । आईतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो बारे जानकारी गराईयो ।संस्थाकी अध्यक्ष सवनम मुखियाका अनुसार यो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिने भएको छ । ती १२ विधाकै उत्कृष्ट पाँचको मनोनयन सुची पनि पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको छ । सो अवार्डका लागि प्राप्त सर्ट फिल्म, बृत्तचित्र, न्युज भिडियो, फेसबुक भिडियो र युट्युव भिडियोबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको अध्यक्ष मुखियाले जानकारी गराएकी छिन् ।कार्यक्रम संयोजक रविन आचार्यका अनुसार अवार्डका लागि यी विधाका ७५ ओटा भिडियो प्राप्त भएको थियो । सम्पादक करुण थापा, सञ्चारकर्मी केपी ढुँगाना र सिनेकर्मी एवम् सञ्चारकर्मी संगीता श्रेष्ठको निर्णायक टिमले ७५ ओटा भिडियो हेरेर उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।

पत्रकार भेटघाट कार्यक्रममा मनोनयन सार्वजनिक गरियो । जस मध्य सर्ट फिल्ममा ६ ओटा विधाको मनोनयन सार्वजनिक गरिएको छ । यसमा उत्कृष्ट सर्ट फिल्म, उत्कृट सर्ट फिल्म निर्देशक, उत्कृष्ट सर्ट फिल्म सम्पादक, उत्कृष्ट सर्ट फिल्म छायाँकार, उत्कृष्ट सर्ट फिल्म ध्वनी, उत्कृष्ट सर्ट फिल्म अभिनेता र उत्कृष्ट सर्ट फिल्म अभिनेत्री रहेका छन् । यस्तै कार्यक्रममा अन्य ६ विधामा उत्कृष्ट ट्रोल, उत्कृष्ट न्युज भिडियो, उत्कृष्ट फेसबुक भिडियो, उत्कृष्ट युट्युव भिडियो र उत्कृष्ट बृत्तचित्रको पनि मनोनयन सुची सार्वजनिक गरिएको छ । कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष केशव भट्टराईले सामाजिक सञ्जालमा आउने यस्ता भिडियोहरु पनि उत्कृष्ट र सन्देशमुलक हुनुपर्छ भन्नेबारे यो अवार्डले प्रोत्साहन गर्ने बताए ।

चलचित्र विकाश बोर्डका सदस्य दयाराम दाहालले एउटा नयाँ अवधारणामा सवनम मुखियाले अवार्ड गर्न लागेकाले बोर्डका तर्फबाट आफुहरुले सघाउने बताए । जुरीका सदस्य एवम् सञ्चारकर्मी केपी ढुँगानाले निकै उत्कृष्ट भिडियोहरु अवार्डका लागि प्राप्त भएको र त्यसबाट आफुहरुले अझ राम्रा छानेर मनोनयन सार्वजनिक गरेको हो भने । आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाले सामाजिक सञ्जालमा आउने गरेको फिल्म तथा भिडियोहरुको प्रवर्धनका लागि सोसियल मिडिया फिल्म अवार्ड गर्न लागेको बताईन् ।