‘ह्यारी कि प्यारी’ प्रिमियरमा सेलिब्रेटी प्रतिक्रिया, कसले के भने ?

...

माघ, काठमाडौँ । आउँदो शुक्रबारबाट प्रर्दशनमा आउने चलचित्र ‘ह्यारी कि प्यारी’को मंगलबार साँझ काठमाडौमा प्रिमियर गरियो । बिग मुभिजको दुईवटा हल बुक गरेर सेलिब्रेटी र पत्रकारका लागी चलचित्र देखाइयो । अधिकांशले चलचित्रबारे सकारात्मक प्रतिक्रिया दिए । कलाकार जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको कामलाई खुलेरै तारिफ गरे । साथै चलचित्रको कथा तथा सुदिप बरालको डिओपीको पनि तारिफ गरिएको थियो । चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । 

प्रिमियरमा कलाकार मदनकृष्ण श्रेष्ठ देखी, दीपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, सन्तोष पन्त, केदार घिमिरे, आकाश अधिकारी, किरण केसी, शिवहरी पौडेल, गायक एसकुमार, पत्रकार टिकाराम यात्री, प्रकाश सुवेदी, कमेडियनहरु हिमेश पन्त, सुमन कार्की लगायतले चलचित्र हेरिसकेपछि सकारात्मक प्रतिक्रिया दिए ।

hyariki-pyari-movie.jpg

सोचे भन्दा राम्रो पाएँः मदनकृष्ण श्रेष्ठ
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र हेरिसकेपछि आफूले सोचेभन्दा राम्रो पाएको भन्दै तारिफ गरे । उनले भने, ‘मैले सोचेको भन्दा धेरै राम्रो पाएँ । ध्यान यताउता जाँदैन कथाले बाधेर राख्छ । आजभन्दा २० बर्षअघि डा. कपिल रिजालले मलाई म्युजिक भिडियोमा खेलाउनु भएको थियो । आजसम्म पनि काम छोड्नुभएको छैन । अहिले चलचित्र नै निर्देशन गर्नुभएको छ । राम्रो चलचित्र बनेको छ । सबैलाई शुभकामना दिन चाहान्छु ।’

जितुलाई मनको हिरोको रुपमा देखाइएको छः सन्तोष पन्त
चलचित्र ‘ह्यारी कि प्यारी’मा कलाकार जितु नेपाललाई मनको हिरोको रुपमा देखाइएको अग्रज कलाकार सन्तोष पन्तले बताए । उनले चलचित्र हेरिसकेपछि मिडियासँगको कुराकानीमा अन्य चलचित्रमा शारिरीक रुपमा द्धन्द्ध गर्ने हिरोलाई देखाइने तर यो चलचित्रमा जितुलाई मनको हिरोको रुपमा देखाइएको भन्दै कामको तारिफ गरे । उनले भने, ‘जितुले धेरै राम्रो काम गरेको छ । उ अरु जस्तो फाइट गर्ने हिरो होइन, मनको हिरो हो ।’ साथै उनले निर्देशक डा. कपिल रिजालको डेब्यु निर्देशक जस्तो नभएर एकदम प्रोफेसनल भन्दै शुभकामना दिए । 

जितुको काम तारिफ योग्य छः दीपकराज गिरी
कलाकार दीपकराज गिरीले पनि कलाकार जितु नेपालसँगै सबै कलाकारले राम्रो काम गरेको भन्दै शुभकामना दिए । बिशेषतः यसअघि आफ्नो चलचित्रमा जितुले काम गरिरहेको र अहिले छक्का पन्जाबाट निस्किएको चर्चाका कारण पनि जितु र दीपकलाई जोडेर केहि प्रश्न गरिएका थिए ।  ‘जितु नेपालले आफ्नो चलचित्रमा छक्का पन्जाको फ्लेबर पाउनुहुनेछ भनेका थिए । के तपाईले चलचित्र हेरिसकेपछि आफ्नो चलचित्र छक्का पन्जाको फ्लेबर पाउनुभयो ?’ दीपकराजका लागी गरिएको यो प्रश्नमा उनले भने, ‘यो अलि गाह्रै प्रश्न हो । हामीलाई जहाँ लगेर राख्नुहुन्छ त्यहा हाम्रो फ्लेवर आउनु स्वभाविक हो ।’ त्यतिकैमा जेहोस् छक्का पन्जाको फ्लेवर आउँछ कि भन्ने दोहोरो प्रश्नमा उनले ‘अँ ठिकै छ’ भन्ने जवाफ दिए ।

jitu-deepak.jpg

साम्राज्ञीलाई पहिलोपटक सुहाएको चलचित्र ह्यारी कि प्यारीः प्रकाश सुवेदी 
चलचित्र पत्रकार प्रकाश सुवेदीले चलचित्र हेरिरहँदा चलचित्रको कथाले बाँधेको भन्दै सकारात्मक प्रतिक्रिया दिए । डा. भोला रिजालको निम्तालाई अस्विकार गर्न नसकेर प्रिमियरमा आएको भन्दै उनले निर्देशक डा. कपिल रिजालको पनि प्रशंसा गरे । साथै चलचित्रमा जितु नेपालले निकै उत्कृष्ट काम गरेको प्रतिक्रिया दिए । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहलाई पहिलोपटक सुहाएको चलचित्र नै ह्यारी कि प्यारी हो भनेर निस्किएका थिए । उनले भने, ‘मैले साम्राज्ञीको यसअघिका धेरै चलचित्र हेरँे, आज ह्यारी कि प्यारी हेरिसकेपछि के लाग्यो भने, साम्राज्ञीलाई पहिलोपटक सुहाएको चलचित्र नै यहि हो ।’

जितुको काम हेरिसकेपछि डरमुक्त भएँः किरण केसी
‘मलाई सुरुमा जितु नेपालले यो चलचित्रमा अभिनय गरेको छ भन्ने सुन्दा असाध्यै डर लागेको थियो । आज चलचित्र हेरिसकेपछि डर मुक्त भएँ । निर्देशक डा. कपिल रिजालले निकै सानो सानो कुरामा ध्यान पुर्याएर चलचित्र निर्माण गर्नुभएको रहेछ । निर्देशक रिजाल नेपाली चलचित्रक्षेत्रका लागी आवश्यक मान्छे हुनुहुन्छ ।’ 

नविनतम कथाले दर्शकलाई तान्न सक्छः टिकाराम यात्री
पत्रकार टिकाराम यात्री पनि प्रिमियरमा सहभागी भएका थिए । उनी डा. भोला रिजाल र कपिल रिजालसँगको सम्बन्धका कारण परिवारसहित चलचित्र हेर्न आइपुगेका थिए । उनले प्रतिक्रिया दिनेक्रममा भनेका छन्, ‘यो चलचित्रका मेकर डा. कपिल रिजालसँग मैले लण्डनमै पनि भेट्ने मौका पाएँको थिए । चिकित्सक पेशामा रहेर पनि चलचित्रमा योगदान दिनुभएको छ । चलचित्र हेरिसकेपछि मलाई के लाग्यो भने समयले समाजले, संगीतले र पर्यावरणले मान्छेमा कसरी रुपान्तरण गर्न सक्दोरहेछ भन्ने देखाइएको छ । रबिन्द्रनाथ ट्यागोरले बिवाहको बिषयमा भनेका थिए, २ वटा संगीतीपुर्ण ब्यक्तिहरु बिचको संमिलनको आधार भनेको विवाह हो । तर चलचित्रमा असंगतपुर्णी, यहाँ त एउटा पनि संगत छैन दुईपात्रको । एकपात्र विलाशी जीवन जिउने र अर्को पात्र टुहुरोपनमा हुर्किएको छ । यी दुई पात्रका बिचमा संयोजले कसरी प्रेमहुन्छ भन्ने देखाइएको छ । एकदम नविनतम कथा छ, सुन्दर छ । सुरुदेखी अन्त्यसम्म दर्शकलाई तान्न सक्छ ।’

यस्तै चलचित्र बन्नु आवश्यक छः रमेश उप्रेती

कलाकार उमेश उप्रेतीले पनि चलचित्रबारे खुलेरै प्रशंसा गरे । उनले भनेका छन्, ‘मलाई चलचित्र हेरिेसकेपछि के लाग्यो भने यस्तै चलचित्र नेपाली चलचित्र क्षेत्रमा बन्नु आवश्यक छ । हरेककुरालाई राम्रो छ । चलचित्रको कथा, कलाकारको कामसँग मेकिंग पनि राम्रो छ । यत्तिको चलचित्र बन्दै जानेहो भने नेपाली चलचित्र क्षेत्रकी लागी राम्रो हो । जितु नेपालको काम एकदम उत्कृष्ट लाग्यो ।’ 

प्रस्तुतीः गोपिकृष्ण चापागाईं ।

 

 

भिडियो पनि हेर्नुहोस्ः