आमालाई सम्झिँदै खडानन्दले गाए ‘मेरी आमा’ गीत

...

माघ, काठमाडौँ । मेरी आमा’ बोलका गीतमार्फत मातृभूमिलाई सम्झिदै गीतकार तथा गायक खडानन्द अधिकारीले चर्चा कमाइरहेका छन् । दुईदिन अघि युट्युवमार्फत सार्वजनिक गीतमा स्वर र शब्द अधिकारीकै रहेको छ भने किशोर सिवाकोटीको संगीत रहेको छ । गीतको संगीत संयोजन फणिन्द्र राईको रहेको छ भने किशोर थापाको मिक्सिङ रहेको छ । 

गायक अधिकारीले उक्त गीत आमाप्रतिको श्रद्धा अर्पण गरेको बताएका छन्। आफ्ना बुबा भक्त अधिकारीलाई प्रमुख अतिथि बनाएर गीतको श्रव्य दृश्य सार्वजनिक गरेका उनले दूधको भारा तिर्न नसके पनि गीतमार्फत् आमाप्रतिको श्रद्धा पूरा गरेको बताए ।

‘मेरी आमा’ सार्वजनिक कार्यक्रममा संगीतकारद्वय लक्ष्मण शेष र हरि लम्साल, गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य, ध्वनि मुद्रक किशोर थापा, पत्रकार एवं गीतकार सुमन बैरागी लगायतको उपस्थिति रहेको थियो । भैंसेपाटीको संगीत नगरस्थित पन्च्व किचनमा आयोजना गरिएको उक्त कार्यक्रममा गायक अधिकारीका बुबा भक्त अधिकारीले माता र मातृभूमिप्रति सदैव प्रेम हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा संगीतकार लक्ष्मण शेषले गीतमार्फत् खडानन्द अधिकारीले आमाको अभावलाई सम्झिएको बताए । उनले अधिकारीको शब्द, स्वर र अभिनयले आफूलाई ठाउँ ठाउँमा झस्काएको बताउँदै सबैका आमाहरुप्रति समर्पण भएको बताए ।

निकेश खड्काको निर्देशन रहेको म्यूजिक भिडियोमा गायक खडानन्द अधिकारी, मिथिला शर्मा र बसुधा घिमिरेको अभिनय रहेको छ । भिडियोको छायाँकन उत्तम हुमागाईंको रहेको छ भने विकास धमलाले सम्पादन गरेका छन् । गीतको भिडियो सुसेली अनलाईन टीभी यूट्युव च्यानलमार्फत् सार्वजनिक भएको छ ।