विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

...

फागुन, काठमाडौँ । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । उनलाई केन्द्रिय साइबर ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई थाइल्याण्डबाट नेपाल आइपुग्दा बिमानस्थलबाटै पक्राउ गरिएको केन्द्रिय साइबर ब्युरोका एस.एस.पी नवीन्द्र अर्यालले जानकारी दिए । 

विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै गायक प्रमोद खरेल सहित चार जना कलाकारहरूले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । रेग्मीले कलाकारहरूलाई सामाजिक संजाल मार्फत गाली गलौच गरेको र अपशष्द बोलेको भन्ने कलाकारहरूले उजुरी दिएका छन् ।

म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत खबर प्राप्त भएको छ । सुवास रेग्मीले अन्य व्यक्तिको पनि सामाजिक संजाल मार्फत चरित्रहत्या गरेकोे उजुरीमा उल्लेख गरिएको छ ।

उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् । यी गायक–गायिकासँग उनको विवाद देखिएको छ । ‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चलेको थियो । गीतको रिमेकलाई लिएर प्रमोद खरेल र सुवास रेग्मीबीच विवाद चलेको थियो ।

सुवास रेग्मीले प्रमोद खरेलमाथि प्रतिलिपि अधिकारको कार्यालयमा करोडको क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए भने प्रमोदले पनि कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जवाफ त्यतिबेला दिएका थिए । पछिल्लो समय थाइल्याण्डमा रहेका सुवास  रेग्मीले सामाजिक सञ्जालबाटै आफूहरुलाई लाञ्छना लगाउने गरेको आरोप उजुरीकर्ताको रहेको छ ।