‘नाङ्गो गाउँ’मा दयाहाङको नेता अवतार, ३३ दिनमा सकियो छायांकन

...

जेठ, काठमाडौँ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन ३३ दिनमा सकिएको छ । यो चलचित्रको छायांकन काभ्रेमको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । निर्देशक लामाले ३३ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको र अब पोष्ट प्रोडक्शनमा लाग्ने बताएका छन् ।

मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगरर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

छायांकन सकिएसँगै यसको निर्माणपक्षले नायक दयाहाङ राइको तस्वीर समेत सार्वजनिक गरेको छ । जहाँ, दयाहाङको नेता अवतार देख्न सकिन्छ । हिमाल शर्माको प्रस्तुतीमा तयार भएको चलचित्रमा जय श्रेष्ठ निर्माताको रुपमा छन् । यो चलचित्रलाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । चलचित्रमा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन छ ।

यो चलचित्रलाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतिक्षा छ । यहीकारणले गर्दा पनि चलचित्रको विदेश राइट्स विक्री भैरहेको छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ चलचित्र गतबर्ष सुपरहिट भएको थियो । यस्तै, यो बर्ष आयोजना भएको ‘सिने सर्कल अवार्ड’मा निर्देशक लामाले उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘गोपि’बाट प्राप्त गरेका थिए ।

चलचित्र ‘नाङ्गो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।