‘कमेडी च्याम्पियन’मा पुग्यो ‘ककाकिकी’ टिम, बिक्की अग्रवालले भने– जीवनकै खुसीको क्षण

...

काठमाडौं । युवा कमेडियनहरूका लागि प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च बन्दै गएको रियालिटी शो ‘कमेडी च्याम्पियन’मा चलचित्र ‘ककाकिकी’को टिम पुगेको छ। मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रचारप्रसारका लागि अभिनेत्री गौरी मल्ल, अभिनेता महेश त्रिपाठी र निर्देशक बिक्की अग्रवाल ‘कमेडी च्याम्पियन’ पुगेका हुन्।

उनीहरू शोको उत्कृष्ट ८ प्रतियोगीको छायांकनमा सहभागी भएका हुन्। उक्त एपिसोड यही साता प्रसारण हुने जनाइएको छ।

विशेषगरी निर्देशक बिक्की अग्रवालका लागि यो उपस्थिति निकै विशेष बनेको छ। उनी स्वयं ‘कमेडी च्याम्पियन’बाट उदाएका कलाकार हुन्। कुनै समय यही मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गरेका बिक्की अहिले सोही कार्यक्रममा अतिथिका रूपमा पुग्दा निकै खुसी देखिए। उनले यसलाई आफ्नो जीवनकै खुसीको क्षणमध्ये एक भएको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा अभिनेत्री गौरी मल्ल र अभिनेता महेश त्रिपाठीले पनि ‘कमेडी च्याम्पियन’ले जन्माएको कमेडियनले निर्माण गरेको चलचित्र ‘ककाकिकी’ उत्कृष्ट बनेको बताएका थिए। उनीहरूले दर्शकलाई मंसिर ११ गतेदेखि हलमा पुगेर चलचित्र हेर्न आग्रहसमेत गरेका छन्।

चलचित्र ‘ककाकिकी’को निर्देशन बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले गरेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा चलचित्रका निर्माता हुन्।

चलचित्रमा शिशिर वाङ्देल, मनोज गजुरेल, पवन खतिवडा, सीडी विजय अधिकारी, सरोज भण्डारी, बीटी कान्छालगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन्।

‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।