भेनिस प्रिमियरको पूर्व सन्ध्यामा ‘द रेड सुटेकस’ को फस्ट लुक सार्वजनिक

...

भदौ, काठमाडौँ । भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा शुक्रबार प्रिमियर हुन गइरहेको  चलचित्र ‘द रेड सुटेकस’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रले दुई मिनेट लामो भिडियो क्लिप सार्वजनिक गर्दै फस्टलुक सार्वजनिक गरेको हो । सार्वजनिक क्लिप्समा देश फर्कने र देश छाड्नेको नियतिलाई सुन्दर फ्रेममा कैद गरिएको छ । 

फिडेल देवकोटाको डेब्यू निर्देशनमा तयार भएको चलचित्रले हलिउडको चर्चित पत्रिका भेराइटीमार्फत् फस्ट लुक सार्वजनिक गरेको हो । चलचित्रका निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले चलचित्रमा नेपाल र श्रीलंकाबीच दुर्लभ सहकार्य रहेको शीर्षकमा समाचार लेख्दै फिल्मको क्लिप सार्वजनिक गरेको छ ।

फिडेल देवकोटाकै लेखनसमेत रहेको चलचित्रले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गर्छ । 

‘द रेड सुटेकस’ भेनिसको होराजेन्टे विधामा प्रतिस्पर्धा गरिरहेको छ र शुक्रबार यसको वल्र्ड प्रिमियर हुँदैछ । वल्र्ड प्रिमियरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदैछन् । चलचित्रलाई आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । चलचित्रको सहनिर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन् ।