विपिन र सुहानाको चलचित्र अब ‘एक भागवत र एक गीता’का नाममा रिलिज हुने

...

भदौ, काठमाडौँ । झरना थापा निर्देशित चलचित्र एक भगवत गीतालाई लिएर भइरहेको विवाद अन्ततः टुंगिएको छ । शीर्षक परिवर्तन गर्ने सहमतिसँगै आइतवार यसको विवाद टुंगिएको हो । 

चलचित्र विकास बोर्डमा आइतवार निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अब यो चलचित्रको नाम ‘एक भागवत र एक गीता (सामाजिक कथा) रहने भएको छ । विवाद टुंगिएसँगै यो चलचित्र अब सेन्सरको प्रक्रियामा अघि बढ्ने जानकारी दिइएको छ । 

यो चलचित्रको शीर्षकलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । उनीहरुले चलचित्रको सेन्सर सिफारिस रोक्न चलचित्र बिकास बोर्डमा उजुरी दिएका थिए । त्यसपश्चात विकास वोर्डले मध्यस्थताको भूमिका खेल्दै दुई पक्षलाई छलफलमा बोलाएको थियो । 

IMG_2871.JPG

निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधिहरुको पटक पटकको छलफलपछि बल्ल नाम परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो । आइतवारको छलफलमा चलचित्रको निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधिसँगै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेता एवं निर्माता दीपकराज गिरी, चलचित्र निर्देशक दिपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने लगायतको समेत उपस्थिति रहेको थियो । 

भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगर लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । चलचित्रमा विपिन कार्कीले निर्वाह गरेको कमलामाई चरित्रलाई चौतर्फी तारिफ समेत मिलिरहेको छ ।