काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिज विधातर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ । ट्रेलरले छोटो समयमै दर्शकको उल्लेख्य ध्यान खिच्न सफल भएको हो ।
समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे ७ लाख भ्युज प्राप्त गरिसकेको छ । ट्रेलरमाथि दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । विशेषगरी निर्देशक रामबाबु गुरुङको प्रस्तुतिसँगै दयाहाङ राईको काजी अवतार र नयाँ पात्रका रूपमा देखिएका विपीन कार्कीको अभिनयले दर्शकको ध्यान खिचेको छ ।
ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र उनको जीवनमा आउने नयाँ उतारचढावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालन गर्न थालेपछि कथाले नयाँ मोड लिएको देखिन्छ । सिर्जना गुरुङको नयाँ मैयाका रूपमा प्रवेश, मिरुना मगर अर्थात् शान्ति मिसको झलक र विपीन कार्कीको दमदार इन्ट्री ट्रेलरका प्रमुख आकर्षण बनेका छन् ।
हास्य, पारिवारिक सम्बन्ध, प्रेम र एक्सनलाई समेटिएको ट्रेलरले ‘कबड्डी’ शृङ्खलाको पुरानो स्वादसँगै नयाँपन दिने संकेत गरेको छ । विशेषगरी विपीन कार्कीको फरक अवतार र काजीको जीवनमा आउने नयाँ परिस्थितिले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको देखिन्छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र यही असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहित कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ भने सागर राज कार्यकारी निर्माता हुन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
सोमनाथ खनाल र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।




२८ आश्विन २०८३, बुधबार १३:३४ 









