फागुन, काठमाडौँ । एउटै खुट्टाले नाँच्न सक्ने भन्ने बित्तिकै जोकोहिलाई पनि कस्तो होला ? कसरी नाँच्छन् होला ? भन्ने जिज्ञासा मनमा आउँछ । दर्शकको यस्तै जिज्ञासाका बिच जब स्टेजमा सीता सुवेदी वैशाखी टेकेर पुग्छिन् सबैको ध्यान उनी तिरै हुन्छ । म्युजिक बज्छ र मस्त नृत्य गर्छिन् सीता ।
पछिल्लो समय आयोजना हुने प्राय कार्यक्रममा देखिन्छिन् सीता । उनी वन लेग क्लासिकल डान्सर हुन् । केहिदिन अघि जनकपुरमा आयोजीत जनकपुर साहित्य महोत्सवमा पुगेकी सीताको नृत्य देखेर जनकपुरका दर्शक चकित परेका थिए । अब सीताको नृत्यसँगै पेन्टिङको प्रस्तुतीले दर्शकको आँखा झिमिक्क पर्न दिएन ।
स्टेजमा नृत्याङ्गना सीतासँगै चित्रकार सरोज लामिछानेले हातमा क्यानभाष र आखाँमा कालोपट्टि बाँधेर पेन्टिङ गर्न थाल्छन् । यी सबै ‘आश्चर्यचकित’ पार्ने गतिविधिबीच मैथिली भाषाको शास्त्रीय गीत–संगीत गुन्जियो,‘ घर खस्लै कोना के, नई पूछू मिता…’ (घर भत्कियो कसरी, नसोध साथी) । गीतको संगीतसँगै नृत्यांगना सीता एउटै खुट्टाले नाचिरहिन् भने चित्रकार लामिछानेले मञ्चको एउटा कुनामा आँखामा कालोपट्टि बाँधेर क्यानभासमा रंग भर्न थाले ।
ेगतले दिएको भावमा लामिछानेले लाइभ पेन्टिङ तयार पारे । जसमा लामिछानेले बाक्लो जंगलभित्र एउटा अजंगको रुख बनाए । र, त्यो रुखमुनिबाट पानी बग्दै गरेको खहरे खोला पनि कुँदे । नृत्यांगना सुवेदीले खुट्टामा बाक्लो घुंगुरा बाँधेकी थिइन् । कत्थक नृत्यको झल्को दिनेगरी उनले एउटै खुट्टाको सहाराले गरेकी नृत्यले दर्शक दंग देखिन्थे । नृत्यसँगै पेन्टिङ पनि बनेको देखेपछि दर्शक उभिएर परर्र ताली बजाएका थिए । नृत्य सकिएपछि कलाकार सुवेदीले आफ्नो प्रस्तुतिमा लाइभ बनेको पेन्टिङ लिइदिन सबैसित आग्रह गरिन् । चित्रकार लामिछानेले कलाको कुनै मूल्य हुँदैन भन्दै सानो रकम दिएर पेन्टिङ लिइदिन आग्रह गरे ।
संघीय सांसद मनिष झाले त्यो पेन्टिङ खरिद गरेर साहित्यकार विमललाई उपहार दिए । चित्रकार लामिछानेले भने नृत्यसँगै बनेको लाइभ पेन्टिङको जनकपुर साइनो रहेको बताएका थिए ।
तस्बिरः ई कान्तिपुर