उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण

...

काठमाडौँ । उपन्यास ‘धमिलो प्रकाश’ लोकार्पण गरिएको छ । साहित्यकार राधा भण्डारीको दोस्रो उपन्यासको रुपमा रहेको ‘धमिलो प्रकाश’ को शनिबार एक समारोहका बिच लोकार्पण गरिएको हो ।
मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा साहित्यकार एवं वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहलको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा. दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार हरि अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उर्जाविद् कृष्ण भण्डारी, वरिष्ठ कलाकार लय संग्रौला, सर्जक राधा भण्डारीलगायतले उत्त कृतिको लोकापर्ण गरे ।

साहित्यकार हरि अधिकारीको सभापत्विमा भएको कार्यक्रममा मिलाप पब्लिकेशका कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए भने स्रष्टा भण्डारीले लेखकीय भनाइ राखेका थिए । भण्डारीले पहिलो उपन्यास कृति ‘खुल्ला कैदी’ पाठकमाझ ल्याएको चार वर्षपछि दोस्रो कृति ल्याएको बताउँदै यो उपन्यास कोरोना–१९को महामारीबाट सिर्जित असमान्य परिस्थितिको पृष्ठिभूमिमा रचिएको जानकारी गराए ।

कार्यक्रममा वरिष्ठ कलाकार संग्रौला, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली, समाजसेवी लीला नेपाल, ऊर्जाविद् कृष्ण भण्डारीलगायतले शुभकामना मन्तव्य राख्दै स्रष्टा राधा भण्डारीलाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिएका थिए ।

समारोहका प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहालले संवादको शैलीमा रहेको उपन्यासले समाजमा रहेका विकृतिलाई उजागर गरेको बताए । उहाँले कृति सरल र गहन रहेको बताउँदै समाजमा रहेको विकृतिलाई कृतिकार भण्डारीले हिम्मत गरेर पाठकमाझ ल्याएको बताए ।

बाईस भागमा विभाजन गरिएको १५६ पृष्ठको यो उपन्यासको मूल्य ४०० रुपैयाँ राखिएको छ ।