भर्जिनियामा ‘दशैं तिहार फेस्ट २०२४’ हुने, अन्जु पन्त, प्रमोद खरेल लगायतको प्रस्तुती रहने

...

काठमाडौं । अमेरिकाको भर्जिनियामा ‘दशैं तिहार फेस्ट २०२४’ को आयोजना हुने भएको छ । आगामी अक्टोबर ५ मा आयोजना हुने उक्त सांगितीक कार्यक्रममा थुप्रै नेपाली कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
कार्यक्रममा गायिका अन्जु पन्त, गायक प्रमोद खरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रम आयोजक थ्री इन्टरटेनमेन्टको तर्फबाट रोशन पुरीका अनुसार कार्यक्रममा यतिबेला अमेरिकामै रहेका नेपाली कलाकार देखी नेपालमै रहेका कलाकारहरुले भर्जिनिया पुगेर प्रस्तुती दिनेछन् । कार्यक्रममा अन्जु, प्रमोदको साथमा गायका मिलन नेवार, समिक्षा अधिकारी, गायक निमा रुम्बाको पनि प्रस्तुती रहने तय भएको छ । कार्यक्रमले नेपालको कला, संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देश्य राखेको छ । आयोजक पुरीले कार्यक्रममा नेपालको कला संस्कृति झल्किने पोसाक, खेल, गहना, खानाको परिकार, चंगा आदीको पनि प्रस्तुती रहने बताएका छन् ।

कार्यक्रमका लागी प्रवेश शुल्क १५ डलर तोकिएको छ भने भिआइपी टिकट १०० डलर तोकिएको छ । यस्तै १० वर्ष देखी मुनीका र ६५ वर्ष देखी माथीकालाई शुल्क नलिने आयोजकले बताएको छ । थ्री इन्टरटेनमेन्टद्वारा हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, डुम्फ्रिज रोड, मनाससमा हुदैँछ ।यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य र रंगीन नेपाली सांस्कृतिक नृत्यहरूका साथै नेपालको परम्परागत लाखे नृत्य प्रदर्शन पनि रहेको छ ।

यस कार्यक्रममा अर्को प्रमूख आर्कषणको रुपमा काइट फेस्टिभल पनि रहेको छ । जसमा भाग लिएर पतंगको एक शानदार प्रदर्शन र बालबालिकाका लागि रमाइलो र आकर्षक गतिविधिहरू पनि यो फेस्टिवलमा रहनेछ ।