र्‍याप प्रतियोगिता गर्दै ‘आउटलः दफा २१९’

...

काठमाडौं । यहीँ फागुन २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘आउटलः दफा २१९’ ले ‘न्याय’ शीर्षकमा ‘र्‍याप प्रतियोगिता’ आयोजना गर्ने भएको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रको निर्माण टिमले ‘र्‍याप प्रतियोगिता’मा सहभागी हुन चाहनेले र्‍याप गीत तयार पारेर पठाउन आह्वान गरेको छ।

‘आउटलः दफा २१९’ले ‘न्याय’को कथा बोल्ने भएकाले यहीँ शीर्षकमै प्रतियोगिता आयोजना गरिएको चलचित्रका निर्माता अमित अग्रहरिले जानकारी दिएका छन्। प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो चलचित्रको सामाजिक सञ्जालमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्नेछन्। प्रतिस्पर्धाको लागी फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।

यो चलचित्रको केही समय अघि मात्र टिजर सार्वजनिक भएको थियो। चलचित्रको ट्रेलर भने आउन बाँकी छ। विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माताको रूपमा छन् । चलचित्रमा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन र नवीन गुरुङको छायांकन छ भने सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ ।