रायन बस्यालले ल्याए ‘गोरखाको भच्चेक’ गीत

...

काठमाडौं । गायक रायन बस्यालले आफ्नो नयाँ गीत ‘गोरखाको भच्चेक’ सार्वजनिक गरेका छन् । गीतमा रायनसँगै शान्तीश्री परियारको स्वर रहेको छ । रायन र शान्तीश्रीको गायनप्रतिको केमेन्ट्री पछिल्लो समय निकै मिल्दै गएको छ । गोरखाको भच्चेकमा जन्मिएका गायक तथा मोडल रायन बस्यालले आफ्नो गाउँको प्रचार हुनेगरी निकै मिठो गीत गोरखाको भच्चेक सार्वजनिक गरेका हुन् । रायनको यो तेस्रो गीत हो । यसअघिका दुईवटै गीत उनका सुपरहिट छन् । घामको झुल्को र घामपानीको छाता यसअघिका अत्यधिक हिट गीत हुन् भने अहिले सार्वजनिक गीत गोरखाको भच्चेक पनि सार्वजनिक भएको एकदिन मात्रै हुँदै दर्शकको निकै मिठो प्रतिक्रिया आइरहेका छन् ।

सार्वजनिक उक्त लोक गीतमा ठाउँको प्रसारसँगै नेपाली पोसाकलाई पनि उत्तिकै ध्यान दिइएको छ । रायनले गीतमा स्वर दिएका छन् भने उनलाई लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । रायनले यसअघिका दुईवटै गीतमा शान्तीश्री सँगै सहकार्य गरेका थिए । गीतमा शब्द पनि रायनसँगै सुर्य कुमार परियारको रहेको छ । यस्तै गीतमा संगीत पनि गायक रायनकै छ । संगीत एरेन्जको काम भने विश्वास नेपालले गरेका छन् । गीतको भिडिओमा रायनसँगै सन्चिता बोलाखे, सन्जय बिश्वकर्मा, सन्जना गुरुङ, पार्वती श्रेष्ठ र अनिज पुन मगरको अभिनय रहेको छ । दुर्गा पौडेलले खिचेको भिडिओ रायन आफैले निर्देशन गरेका हुन् । भिडिओ रायन बस्याल अफिसियल युट्युवमा सार्वजनिक भएको छ ।

रायनले आफ्ना यसअघिका दुईगीतलाई जस्तै दर्शकले स्रोताबाट धेरै माया पाउने आशा राखेका छन् । उनले आफ्ना गीतहरुमा सधै मौलिकपन झल्काउने बताएका छन् । रायन बस्याल गायनमा नयाँ भएपनि म्युजिक भिडिओमा १०० माथी अभिनय गरिसकेका छन् । रायनले दुईबर्ष अघि सरोज लामिछानेको सान्दाजु गीतबाट मोडलिङ यात्रा सुरु गरेका थिए ।