काठमाडौँ । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ सम्पन्न भएको छ। समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भएका थिए। समारोहको प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायतको सहभागिता रहेक थियो।
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले नेपाली चलचित्र प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्य लिएको छ। यस महोत्सवका सद्भावना दूतसमेत रहेका चलचित्र अभिनेता प्रदीप खड्काले रारा क्षेत्र मात्र नभई विश्वभर चलचित्र छायाङ्कनका लागि उत्कृष्ट स्टुडियोको रूपमा रारा ताल र वरपरका प्राकृतिक सम्भावनाहरूलाई उजागर गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिनु पर्ने र जलवायु परिवर्तनका कारण कर्णालीलगायत नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति माग्न कर्णालीवासीले आवाज उठाउन आवश्यक रहेको बताए। हिमालहरू पग्लँदै गएको, पानी र खाद्यान्न सङ्कट बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र अभियान सञ्चालन गर्नुपर्ने उनको विचार थियो।
महोत्सवको सह -आयोजक रहेको संस्था चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीले कर्णाली चलचित्र महोत्सवले विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरूले चलचित्र क्षेत्रका नयाँ सम्भावनाहरूको खोजी गरेको र गाउँ-गाउँसम्म चलचित्र प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरे। चलचित्र विकास बोर्डले बलिउडका केही प्रभावशाली व्यक्तिहरूलाई बोलाई रारामा समेत चलचित्रका गतिविधिहरू गर्ने योजना रहेको जानकारी दिए।







२३ बैशाख २०८२, मंगलवार १२:३३ 








