कलाक्षेत्रको ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन

...

काठमाडौँ।  गृहमन्त्री रमेश लेखकले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध रोक्न प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोक्न निर्देशन दिएका छन्।  विहिबार दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको डेलिगेसन टोलीलाई गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन् ।

सो अवसरमा उपस्थित प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकल पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले सामाजिक संजाल र डिजिटल प्लाटफर्ममा हुने विकृति र त्यसको रोकथामको लागि निष्कर्षसहित अघि बढ्ने बताएका छन्।

प्रहरी महानिरीक्षक दीपक थापाले यस्तो समस्या आए प्रहरीमा उजुरी दिन आग्रह गरेका छन्। ‘गीतसंगीत र दोहोरीको नाममा विकृति छन् । बच्चा, नातिनातिनी, छोराछोरीसँग बसेर टिकटक र गीत हेर्ने अवस्था छैन । यसको अन्त्य गर्न हामी लाग्छौं’ उनले भने । सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापासहित पुगेका कलाकारले लोकसंगीत क्षेत्रमा विकृति विसंगति देखिएको र यसको रोकथामको लागि राज्य गम्भीर हुनुपर्ने बताएका थिए । सो अवसरमा अन्य कलाकार शिव हमाल, बद्री पँगेनी, पूर्णकला बीसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल लगायत पुगेका थिए ।